भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले आगामी ६ महिनाभित्र १ लाख ७६ हजारभन्दा बढी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने लक्ष्य राखेको छ।
कार्यालयले गत मंगलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही लाइसेन्सहरू वितरण गर्न सुरु गरिसकेको छ।
सूचना अधिकारी जीवन बस्नेतका अनुसार सुरुवाती तीन दिनमा ३ हजार लाइसेन्स वितरण गरिएको छ भने अझै १ लाख थान छपाइ भएर आउन बाँकी छ।
दैनिक ८ जना कर्मचारी खटिँदा पनि भीडका कारण एक हजारभन्दा बढी वितरण गर्न कठिन भइरहेको कार्यालयले जनाएको छ।
लाइसेन्स लिन सेवाग्राहीको अत्यधिक भीड बढेपछि कार्यालयले दैनिक बिल वा मोबाइल एप प्रयोग गर्न सकिने भन्दै हतार नगर्न आग्रह गरेको छ।
चार वर्षदेखि रसिदका भरमा सवारी चलाउँदै आएका सेवाग्राहीहरू अहिले आफ्नो स्मार्ट कार्ड लिन बिहान ७ बजेदेखि नै लाइनमा बस्ने गरेका छन्।
कार्यालयले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लाइसेन्स वितरणको काम गरिरहेको छ।