पूर्वाधार निर्माणमा ‘कन्स्ट्रक्सन होलिडे’

इन्धनको निरन्तर मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव र महँगीका कारण देशभरका विकास निर्माण कार्य प्रभावित हुन थालेका छन् ।

लागत ३०–४० प्रतिशतसम्म बढेपछि निर्माण व्यवसायीहरू काम सुस्त गर्न र रोक्न थालेका छन् । पूर्वाधार निर्माणमा ‘कन्स्ट्रक्सन होलिडे’जस्तै भइसक्दा सरकारले प्रभावकारी हस्तक्षेप गर्न सकेको छैन ।

सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर विकास आयोजनालाई तीव्रता दिने बताइरहँदा मूल्यवृद्धि र सामग्री अभावका कारण अघोषित रूपमा ‘कन्स्ट्रक्सन होलिडे’ भइरहेको छ ।

केही दिनअघि निर्माण व्यवसायी महासंघले विज्ञप्ति जारी गरेरै आपत्काल घोषणा गर्न माग गरिसकेको छ । व्यवसायीहरूले इन्धनको चर्को मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव र महँगी बढेर आफूहरू चरम घाटामा गएको बताउँदै आएका छन् । हाल नेपालमा झन्डै ८ खर्ब लागतका ठुला–साना ५ हजार विकास आयोजना निर्माण भइरहेका छन् ।

तर, इन्धन संकटका कारण निर्माण व्यवसायीले कामदार कटौती गर्नुपरेको छ भने धेरै ठाउँमा काम नै रोक्नुपरेको निर्माण व्यवसायी महासंघका बागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङ बताउँछन् । ‘केही सीप नलाग्ने अवस्था आयो ।

इन्धन र निर्माण सामग्रीको भाउ अत्यधिक बढ्यो । निर्माण सामग्री पाइँदैन, बिटुमिन त आउनै छाडेको छ’ उनी भन्छन्, ‘अरू त कुरै छाडौं माटोसमेत नपाइने अवस्था छ ।’ व्यवसायी निकै समस्यामा परेर आपत्कालको माग गरे पनि सरकारले मर्का नसुनेको तामाङ बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *