अटो व्यवसायीको अर्थमन्त्रीसँग भेट

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी अटो क्षेत्रका समस्याबारे सुझाव दिएको छ।

अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले सवारी साधनलाई विलासिता नभई ‘आवश्यकता’ को रूपमा मान्यता दिन माग गरेको छ।

भेटमा ८०/२० को कर्जा अनुपात (LTV) कायम गर्न र कर प्रणालीलाई सरल एवं सन्तुलित बनाउन विशेष जोड दिइएको छ।

व्यवसायीहरूले विद्युतीय र हाइब्रिड गाडीहरूको स्पष्ट वर्गीकरण गरी सबै प्रविधिमा समान कर व्यवहार हुनुपर्ने सुझाव प्रस्तुत गरेका छन्।

भन्सार जाँचपास भइसकेपछि पनि अडिटका नाममा बेरुजु निकाल्ने प्रवृत्तिले व्यवसायमा अन्योल सिर्जना गरेको गुनासो समेत गरिएको छ।

अर्थमन्त्री वाग्लेले यी सुझावहरू आगामी बजेट र नीति तथा कार्यक्रममा समेट्न सकारात्मक रहेको प्रतिबद्धता जनाउनुभयो।

यसैबीच, टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साललाई भेटेर सडक सुरक्षा र यातायात ऐनको पुनरावलोकनबारे छलफल गरेको छ।

मन्त्री लम्सालले अटो क्षेत्रबाट उठ्ने राजस्वको निश्चित हिस्सा पुनः यसै क्षेत्रको विकासमा खर्च गर्ने नीति बनाउन सरकार तयार रहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *