लुम्बिनी ट्रक संघ सभा सम्पन्न

काठमाडौँ। लुम्बिनी ट्रक यातायात व्यवसायी संघको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सभामा संघका अध्यक्ष रुमाखर गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यातायात क्षेत्रका चुनौती, उपलब्धि र भावी योजनाबारे चर्चा गरेका छन्।

अध्यक्ष गौतमले संघ स्थापना भएको २०६७ सालदेखि संघले व्यवसायीहरूको भरोसायोग्य संस्था रूपमा आफूलाई स्थापित गरेको बताए।

उनले संघलाई यहाँसम्म ल्याउन योगदान पुर्‍याएका संस्थापक सदस्य, पूर्वअध्यक्ष र व्यवसायीहरू प्रति आभार व्यक्त गरे।

गौतमले संघीय र प्रदेश सरकारबीचको कानुनी दोहोरोपन, रुट परमिट र दर्ता प्रक्रियामा जटिलताका कारण व्यवसायीहरू समस्या भोग्दै आएको बताए।

उनले भारतीय मालवाहक सवारीको निर्वाध आवतजावत रोक्न द्विदेशीय मापदण्ड लागू गर्न सरकारसँग माग गरे।

सभाका प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले यातायात क्षेत्र गम्भीर सङ्कटमा रहेको र सडक दुर्घटनामा दैनिक औसत सात जनाले ज्यान गुमाइरहेको बताए।

उनले घाइतेको उपचारमा ढिलाइ हुने समस्या सुधारका लागि सडकमा ट्रमा सेन्टर स्थापनाको माग गरे।

बानियाँले रुट परमिट, दर्ता प्रक्रिया र नियमन प्रणालीमा देखिएको दोहोरोपन हटाउन र भारतीय मालवाहक सवारीको प्रवेश नियन्त्रण गर्न सरकारसँग कडा कदम चाल्न आग्रह गरे।

भाडा समायोजनका विषयमा उनले अन्तर्राष्ट्रिय पेट्रोलियम मूल्य वृद्धिका कारण ढुवानी लागत बढेको उल्लेख गर्दै वैज्ञानिक आधारमा पहाडमा करिब १४ प्रतिशत र तराईमा ८ प्रतिशतसम्म भाडा बढाउने आवश्यक रहेको बताए।

महासंघले यातायात क्षेत्रमा डिजिटलाइजेसन अभियान अघि बढाएको जानकारी दिँदै सवारी विवरण, भार व्यवस्थापन र निगरानी प्रणालीलाई डिजिटल माध्यममा ल्याएर पारदर्शिता र नियमन सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।

सभाको अन्त्यमा अध्यक्ष गौतमले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै व्यवसायीहरूको एकता र सहकार्यले मात्रै चुनौती सामना गर्न सकिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *