लामो समयदेखि रोकिएको लाइसेन्स छपाइ कार्यलाई गति दिन सुरक्षण मुद्रण केन्द्रले कम्मर कसेको छ।
केन्द्रका अनुसार हाल काभ्रेको पनौतीस्थित प्रेसबाट दैनिक २५ हजारका दरले कार्ड छापिने काम भइरहेको छ।
केन्द्रसँग दैनिक ४० हजारसम्म कार्ड छाप्ने मेसिनरी क्षमता रहेको र आवश्यक सामग्रीको अभाव हटेकाले अब छपाइमा ढिलाइ नहुने दाबी गरिएको छ।
यातायात व्यवस्था विभाग र केन्द्रबीच भएको सम्झौता अनुसार आगामी वैशाख १२ गतेभित्र १२ लाख कार्ड छापेर हस्तान्तरण गरिनेछ।
त्यसलगत्तै थप सम्झौता गरेर आगामी असार मसान्तसम्ममा बाँकी रहेका सबै (ब्याकलॉग) लाइसेन्स छापेर सक्ने लक्ष्य राखिएको छ।
हाल कर्णाली र सुदूरपश्चिम जस्ता दुर्गम प्रदेशहरूलाई प्राथमिकतामा राखेर कार्ड पठाइँदै छ, जसले गर्दा साउनदेखि कसैले पनि ‘चिर्कटो’ बोक्नु नपर्ने अपेक्षा गरिएको छ।