एयरब्यागयुक्त स्कुटर सार्वजनिक

यामाहाले पहिलो पटक एयरब्यागसहितको स्कुटर ल्याएर दुईपांग्रे सवारी सुरक्षामा नयाँ इतिहास बनाएको छ।

कम्पनीले २०२६ को Yamaha Tricity 300 सार्वजनिक गर्दै यसमा यात्रुको सुरक्षाका लागि एयरब्याग जडान गरेको हो। अहिलेसम्म यस्तो सुविधा प्रायः कारमा मात्र सीमित थियो, तर अब स्कुटरमै पनि सम्भव बनाइएको छ।

यो स्कुटरमा राखिएको एयरब्याग दुर्घटना हुँदा सेन्सरले ठक्कर पत्ता लगाउनेबित्तिकै तुरुन्त खुल्छ, जसले चालकको टाउको र छातीमा लाग्ने चोट कम गर्न मद्दत गर्छ। एयरब्याग अगाडिको भागमा जडान गरिएको छ।

ट्राइसिटी ३०० तीन पांग्रे स्कुटर हो, जसमा अगाडि दुई र पछाडि एक पाङ्ग्रा हुन्छ, जसले राम्रो सन्तुलन र पकड दिन्छ। यसमा २९२ सीसीको इन्जिन रहेको छ, जसले २८ एचपी पावर र २९ एनएम टर्क उत्पादन गर्छ।

यसमा ‘ब्लु कोर’ प्रविधि, लिनिङ मल्टी-ह्विल सिस्टम, टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, एबीएस र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता सुविधाहरू दिइएको छ। साथै सिटमुनि दुईवटा हेल्मेट अट्ने स्पेस पनि उपलब्ध छ।

यामाहाले यो प्रविधिमार्फत स्कुटर चालकको सुरक्षामा ध्यान दिएको छ। युरोपेली बजार लक्षित यो स्कुटरले भविष्यमा अन्य कम्पनीलाई पनि यस्तै प्रविधि अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *