मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा मादी नदीमाथि निर्माण भइरहेको चार लेनको पुलको काम तीव्र गतिमा अघि बढिरहेको छ।
व्यास नगरपालिका–४ र ५ जोड्ने यो पुलको निर्माण हाल करिब ७७ प्रतिशत सम्पन्न भइसकेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ।
अहिले पुलको फाउन्डेसनको काम सकिएर आर्क डिजाइनको संरचना बनाउने काम भइरहेको छ।
पुल निर्माण तीन वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सुरु गरिएको थियो। तर ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्मका लागि म्याद थप गरिएको छ।
२०७९ साउन २६ गते अन्नक जेडआइस्टी जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो। योजना कार्यालयका अनुसार थपिएको समयभित्रै पुल निर्माण सक्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ।
करिब ३१५ मिटर लामो र २३ मिटर चौडाइको यो पुल छ वटा स्पान भएको हुनेछ। करिब १ अर्ब २१ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो पुल नेपालकै पहिलो मोनोलेथिक संरचनाको आर्क ब्रिज हुने बताइएको छ।
हाल निर्माणस्थलमा दैनिक करिब १५० कामदार खटिएका छन् र तोकिएको समयभन्दा अगाडि नै पुल निर्माण सक्ने लक्ष्य राखिएको निर्माण कम्पनीले जनाएको छ।