२६ वर्षपछि सडक कालोपत्र

‘ट्र्याक’ खुलेको २६ वर्षपछि ग्रामीण क्षेत्रमा सडक कालोपत्र भएपछि स्थानीय बासिन्दा निकै खुसी भएका छन्।

जिल्ला सदरमुकामसँग जोडिने मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक खण्ड कालोपत्र गरिएको हो। यसले यात्रा गर्न र सामान ढुवानी गर्न धेरै सहज बनाएको छ।

सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनीको २.५ किलोमिटर र गणेशघुम्ती–निरयघाटको १.५ किलोमिटर गरी कुल १२.२ किलोमिटर सडक कालोपत्र गरिएको छ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार विश्व बैंकको ४८ करोड रुपैयाँ अनुदान सहयोगमा सडक निर्माण सम्पन्न गरिएको हो।

उनका अनुसार सडक स्तरोन्नतिले ग्रामीण बासिन्दालाई आवतजावत मात्र होइन, स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन पनि सहज बनाएको छ।

उनले पहिले कालोपत्र नहुँदा धुलो र हिलोका कारण स्थानीयले धेरै सास्ती भोग्नुपरेको बताए। अब पक्की सडक बनेपछि दैनिक जीवन नै सजिलो हुने अपेक्षा गरिएको छ।

यी तीन सडकले बागलुङ नगरपालिका–१, ४ र ७ नम्बर वडालाई जोडेको छ। स्थानीय तुलसी सापकोटाका अनुसार अब धुलो र हिलोबाट छुटकारा मिलेको छ। पहिले घरअगाडि गाडी गुड्दा भान्छासम्म धुलो पस्ने समस्या थियो।

अर्का स्थानीय प्रेम विकले अब बागलुङ बजार जान निकै सजिलो भएको बताए। पहिले साँघुरो र कच्ची सडकका कारण साढे एक घण्टा लाग्ने यात्रा अहिले २५–३० मिनेटमै पूरा गर्न सकिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *