नेपाल आयल निगमले बजारमा देखिएको एलपी ग्यास अभाव हटाउन ग्यासको आयात कोटा बढाएको दाबी गर्दा पनि माघ महिनामा ग्यास आयात घटेको तथ्यांक देखिएको छ।
भन्सार विभागले प्रकाशित गरेको तथ्यांकअनुसार पुसमा ४७ ४६० मेट्रिक टन ग्यास आयात भएकोमा माघमा ४६ २८४ मेट्रिक टन मात्रै भित्रिएको छ। यसका कारण उपभोक्ताले अझै ग्यास सजिलै पाउन नसकेको देखिएको छ।
निगमका उपनिर्देशक मनोज कुमार ठाकुरका अनुसार उद्योगीहरूले महिनाको सुरुमा निर्धारित प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) अनुसार ग्यास आयात नगरेका कारण कुल आयात कम देखिएको हो।
सामान्य अवस्थामा दैनिक करिब ९० बुलेट ग्यास आयात हुने गरे पनि महिनाका अन्त्यमा मात्र धेरै ग्यास भित्रिएको निगमको तथ्यांकमा जनाइएको छ।
त्यस्तै, माघमा पेट्रोल र हवाई इन्धनको आयात भने बढेको देखिएको छ। पुसको तुलनामा माघमा पेट्रोल र हवाई इन्धन भित्र्याउने मात्रा बढी भएको छ।