काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
कार्यालयमा आयोजित कार्यक्रममा ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले ३१ मोटरसाइकल र २२ स्कुटर धनीहरूलाई जिम्मा लगाएका हुन्।
ट्राफिक प्रहरीले प्राप्त निवेदन र विभिन्न सूचनाका आधारमा खोजतलास गर्दा ती सवारी साधनहरू काँडाघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, नयाँबसपार्क, बालकुमारी, लोकन्थली, बसन्तपुर, कालिमाटी, बौद्ध, गोकर्ण, मुलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागल लगायत स्थानबाट फेला पारेको जनाएको छ।
खोजीका क्रममा केही सवारी साधन वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा भेटिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार गत साउन यता मात्रै चोरी वा हराएका सवारीमध्ये २९६ वटा फेला पारेर धनीलाई जिम्मा लगाइसकेको छ।
यससँगै चोरीमा संलग्न रहेको आरोपमा २९ जना व्यक्ति नियन्त्रणमा लिइएको छ भने १६ वटा चोरीका दुई पाङ्ग्रे सवारी पनि बरामद भएको छ।
ट्राफिक प्रहरीले सवारी चोरीबाट बच्न सुरक्षित स्थानमा पार्किङ, ह्यान्डिल लक/डिस्क लक, सुरक्षा साइरन, GPS जडान, र एकान्त ठाउँमा पार्किङ नगर्न अनुरोध गरेको छ।
सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा फोन गर्न, वा नजिकको प्रहरी/ट्राफिक कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जनाएको छ।