सञ्चालन खर्च कम पर्ने र चीनबाट सहजै आयात गर्न सकिने भएकाले नेपालमा विद्युतीय कारसँगै विद्युतीय भ्यान, माइक्रोबस र मिनिबसको आयात तीव्र रूपमा बढ्दै गएको छ।
पछिल्ला वर्षहरूमा आयात संख्या मात्र होइन, चीनबाट आउने कमर्सियल विद्युतीय सवारीका ब्रान्डहरू पनि थपिँदै गएका छन्।
सन् २०२५ मा नेपालमा ३,७६१ वटा विद्युतीय कमर्सियल सवारी आयात भएका थिए। यसमा भ्यान, माइक्रोबस, मिनिबस, विद्युतीय पिकअपदेखि ट्रकसम्म समावेश छन्।
आयात भएका सवारीमध्ये ठूलो हिस्सा भने ११ सिट क्षमताका भ्यान र १४ सिटसम्मका माइक्रोबसको रहेको छ।
पछिल्लो समय भने १५–२५ सिट क्षमताका विद्युतीय मिनिबसको आयात पनि बढ्न थालेको छ।
सन् २०२६ जनवरी मा मात्र ३९६ वटा विद्युतीय कमर्सियल सवारी नेपाल भित्रिएका छन्।
यसमध्ये सबैभन्दा धेरै नियोसी (Neosey) ब्रान्डको विद्युतीय भ्यान आयात भएको देखिन्छ।
भन्सार तथ्यांकअनुसार एम्बर मोटर्सले जनवरीमा १५५ वटा नियोसी भ्यान आयात गरेको छ।
नियोसी ब्रान्ड यसअघि केवाईसी (KYC) नाममा आयात हुँदै आएको थियो। पहिले आयात भएको भ्यान नै नाम र लोगो परिवर्तन गरेर नियोसी ब्रान्डमा ल्याइएको जनाइएको छ।
जनवरी २०२६ मा नेपाल भित्रिएका विद्युतीय कमर्सियल सवारीहरू १७ वटा ब्रान्डका थिए। तीमध्ये नियोसीपछि गोल्डेन ड्रागन (३६), किङलङ (३४), कामा (३४), डोङफेङ (२७), कावे (२६), जोयलङ (२५), नाभिको (२०), हाइगर (२०) लगायतका ब्रान्ड उल्लेख्य छन्।
छोटो र मध्यम दूरीका रुटमा व्यावसायिक प्रयोगका लागि ११ सिट र १४ सिट क्षमताका विद्युतीय माइक्रोबस/भ्यानको माग बढेकाले आयात बढेको हो। अहिले नेपाली बजारमा ३५ भन्दा बढी ब्रान्ड र तीका दर्जनौँ मोडल उपलब्ध छन्।
तर आयात बढ्दै जाँदा धेरै ब्रान्ड नन-ब्रान्डेड, नयाँ स्टार्टअप वा कमजोर अवस्थामा रहेका कम्पनीका पनि छन्।
त्यसैले उपभोक्ताले स्पेयर पार्ट्स र सर्भिस नियमित उपलब्ध हुने, चीनमा चल्ने र अन्य देशमा पनि निर्यात हुने ब्रान्ड रोज्नुपर्ने सुझाव दिइएको छ।
सञ्चालन खर्च कम र डिजेल माइक्रोबससरह भाडामा चलाउन सकिने भएकाले यातायात व्यवसायीहरू विद्युतीय माइक्रोबस/भ्यानतर्फ आकर्षित भएका छन्।
तर पछिल्लो समय समयमै सर्भिस र स्पेयर पार्ट्स नपाइने गुनासो आउन थालेकाले, समयमै समाधान नभए उपभोक्तामा निराशा बढ्न सक्ने व्यवसायीहरूको भनाइ छ।