निर्माण भइरहेक १४० मेगावाट योग्यता भएको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ।
यस आयोजना प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ झापुटारमा क्षति भएबापत मुआब्जा दिने निर्णय लिइएको आयोजनाले जनाएको छ।
मुआब्जा निर्णय प्रमुख जिल्ला अधिकारी अध्यक्षतामा बसेको समितिको बैठकले गरेको हो।
बैठकले आयोजनाको काम चलिरहँदा तराईतर्फको ब्यास नगरपालिका–१४ सोढेमा प्रसारण लाइन निर्माणका क्रममा क्षति भएको सुन्तलाका बोटको क्षतिपूर्ति समावेश गरेर प्रभावितलाई मुआब्जा दिन सहमति गरेको जानकारी दिएको छ।
बैठकमा आयोजनाको जलाशय तथा बफर जोन भित्रका लामो समयदेखि बसोबास, खेती र उपयोग गर्दै आएका ऐलानी जग्गाधनीहरूको सर्वेक्षण र अध्ययन गरेर पनि मुआब्जा दिने विषयमा छलफल भएको छ।
यो आयोजना हेडवर्क्स, मुख्य सुरुङ, विद्युत् गृह तथा प्रसारण लाइन गरी तीन प्याकेजमा विभाजित छ र एशियन विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपियन लगानी बैंक र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले संयुक्त रुपमा वित्तीय सहयोग गर्दै छ।