देशको राष्ट्रिय गौरव आयोजनामध्ये उच्च प्राथमिकतामा रहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको समग्र प्रगति करिब ४५ प्रतिशत पुगेको छ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यस आयोजनाको हाल भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको छ।
आयोजनाअन्तर्गत सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन्। मकवानपुरका धेद्रे र लेनडाँडामा चारवटा (दुईतर्फी) सुरुङ छिचोल्ने काम सम्पन्न भइसकेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्म थप दुई जोडी सुरुङ छिचोल्ने लक्ष्य राखिएको छ। सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ।
ललितपुरको खोकनाबाट सुरु भएर काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पूर्व–पश्चिम राजमार्गसँग जोडिने यो द्रुतमार्गको कुल लम्बाइ ७०.९७७ किमी हुनेछ।
पहाडी क्षेत्रमा सडक २५ मिटर र तराई क्षेत्रमा २७ मिटर चौडाइको हुनेछ। ललितपुरमा ९, काठमाडौंमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण गरिनेछ।
द्रुतमार्गमा ८९ वटा साना–ठूला पुल निर्माण हुनेछन्। हालसम्म विशेष प्रकृतिका १३ स्थानका पुल सम्पन्न भइसकेका छन्, जसको उचाइ कतिपय ठाउँमा ८२ मिटरसम्म पुगेको छ।
बाँकी पुलमध्ये अधिकांश ठेक्का भई काम भइरहेको छ भने चार स्थानमा जग्गा अधिग्रहण समस्या रहेको जनाइएको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल सम्पन्न गर्ने लक्ष्य छ। हालसम्म ११ किमी सडकमा सबवेस, र ५ किमी सडक कालोपत्रे भइसकेको छ।
निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण भइसकेको छ र खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज निर्माण भइरहेको छ।
आयोजनाका लागि आवश्यक १५,४१६ रोपनी जग्गामध्ये खोकना बाहेक अन्य क्षेत्रमा अधिग्रहण सम्पन्न भइसकेको छ।
‘एसियन हाइवे स्ट्यान्डर्ड’मा निर्माण हुने यो देशकै पहिलो द्रुतमार्गको अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ छ र २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
द्रुतमार्ग पूरा भएपछि काठमाडौं–मध्य तराई यात्रा करिब एक घण्टामा सम्भव हुने, ढुवानी सहज हुने र मुलुकको आर्थिक विकासमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।