नागढुंगा सुरुङ सञ्चालन दौड

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि १० वटा कम्पनी तथा संयुक्त उपक्रम (जेभी) बाट आवेदन परेको छ।

आयोजनाले तोकेको म्याद (पुस ३०) भित्र ती कम्पनीहरूले रुचि देखाएका हुन्।

आवेदन दिनेमा स्वदेशी तथा विदेशी कम्पनीहरू मिलेर बनेका विभिन्न जेभीहरू छन्। तीमध्ये सेग्मेन्टल–स्वच्छन्द, काष्ठमण्डप–गान्सु हेङतोङ, केएसएनएस–अल्टिनोक–बीसीपीएल, एसएक्सआरबी–ब्राइट बुल, जेटीसीजी–दान्फे, बावरी–टनलटेक र ईएमएसएल–पीएससीपीएल लगायत रहेका छन्।

करिब २२ अर्ब रुपैयाँ लागतमा सुरु भएको नागढुंगा–नौबिसे सुरुङमार्गको कुल लागत अब थप ऋणसहित साढे २७ अर्ब रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

यसमा जापान सरकारको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ। थप साढे ५ अर्ब रुपैयाँ ऋण लिने तयारी भए पनि त्यससम्बन्धी सम्झौता अझै टुंगो लागिसकेको छैन।

सडक विभागका अनुसार डिजाइन परिवर्तन, निर्माण क्रममा थप संरचना, पटक–पटकको अवरोध, परामर्श सेवाको लागत वृद्धि र निर्माण कम्पनीले मागेको क्षतिपूर्तिका कारण आयोजनाको लागत बढेको हो।

यी सबै पक्षलाई ध्यानमा राख्दै थप वित्तीय व्यवस्थाको तयारी गरिएको विभागले जनाएको छ।

२०७६ कात्तिकमा सुरु भएको यो आयोजना ४२ महिनामा सक्ने लक्ष्य राखिए पनि कोभिड–१९, स्थानीय अवरोध र डिजाइन परिवर्तनले काम ढिलो भयो।

कहिलेकाहीँ स्थानीय आन्दोलनका कारण एक महिनासम्म काम रोकिने अवस्था आएको थियो।

पहिले २०८२ असोजसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि काम नसकिएपछि २०८३ बैशाखसम्म म्याद थपिएको छ।

२.५ किलोमिटर लामो मुख्य सुरुङ २०८१ बैशाखमा छिचोलिए पनि अझै सञ्चालनमा आउन सकेको छैन।

यसैबीच, धादिङतर्फको पश्चिम पोर्टलमा रहेको पहिरो व्यवस्थापन, नयाँ डिजाइनअनुसारको काम र काठमाडौं तथा धादिङ दुवैतर्फ गरी पाँचवटा टोल प्लाजा निर्माण कार्यलाई तीव्र बनाइएको आयोजनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *