नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) को पहिलो वार्षिक साधारण सभा मंसिर २५ गते कमलपोखरीस्थित कार्यालयमा सम्पन्न भएको छ।
सभाले स्थापना भएयता भएका प्रमुख उपलब्धि, सिकाइ र आगामी वर्षका कार्यक्रम, रणनीति तथा संस्थागत संरचनालाई औपचारिक रूपमा स्वीकृत गरेको छ।
सभामा अध्यक्ष वैद्यले छोटो समयमै नाइमा नेपाली मोबिलिटी क्षेत्रको एकीकृत र प्रभावकारी आवाज बन्न सफल भएको बताइन्।
उनले पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सफलतापूर्वक आयोजना भई अटोमोबाइल क्षेत्रका सरोकारवालालाई एउटै स्थानमा ल्याउन सहयोग पुगेको र सिकाइ सत्रहरूले संस्थाको विश्वसनीयता बढाएको उल्लेख गरिन्।
कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक तथा वित्तीय विवरण प्रस्तुत गर्दै पारदर्शी र जिम्मेवार व्यवस्थापनप्रति प्रतिबद्धता दोहोर्याए।
सदस्यहरूले नाइमाको सक्रिय भूमिकाको प्रशंसा गरेका छन्।
सभाले आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरू पारित गरेको छ, जसमा नियमित मोबिलिटी संवाद, तालिम, अध्ययन–अनुसन्धान, नीतिगत बहस र ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ समावेश छन्।
उक्त एक्स्पो साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने तय भएको छ।
यसैगरी, आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरशिप अफेयर्स कमिटी गठन गर्ने, मेगाटेक ग्रुपलाई नयाँ सदस्य बनाउने र सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरिएको छ।
सभाको अन्त्यमा अध्यक्ष वैद्यले सदस्यहरूलाई धन्यवाद दिँदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन विकासका लागि नाइमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।