यामाहा रेसिङको मुख्य प्रायोजनमा संचालन भइरहेको नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल शो डाउन आगामी शनिबार सम्पन्न हुने भएको छ ।
शुक्रबार र शनिबार गरी दुई दिन चल्ने उक्त रेसिङ कार्यक्रम धुलिखेल रेस ट्र्याकमा आयोजना हुनेछ ।
मोटर स्पोर्ट्स नेपाल क्लबले नासा नेपालसँगको सहकार्यमा आयोजना गर्ने सो च्याम्पियनसिपको राउन्ड ४ सम्मका प्रतियोगिता यो भन्दा पहिले सम्पन्न भइसकेका छन् ।
अब यसको फाइनल राउन्ड सकिएसँगै २०२५ का सम्पूर्ण प्रतियोगिता सकिने छन् ।
सबैभन्दा पहिले नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को राउन्ड १ गत चैत महिनामा ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको थियो ।
त्यसैगरी राउन्ड २ असार महिनामा बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कुलमा सम्पन्न भएको थियो भने राउन्ड ३ गत भदौ महिनामा धुलिखेलस्थित संयुक्त ड्राइभिङ स्कुलमा सम्पन्न भएको थियो ।
त्यसैगरी राउन्ड ४ गत मंसिर ९ गते धुलिखेल रेस ट्रयाकमा आयोजना गरिएको थियो ।
सो इभेन्टमा टायर पार्टनर रेज टायर, सेफ्टी गियर पार्टनर कवच गियर थिए भने पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिंक्स, सपोर्टेड बाई सेल एड्भान्स लुब्रिकेन्ट, टीएनएस मोटो, हिट्को, वन्डरल्यान्ड लगायत रहेका छन् ।
प्रतियोगिताको उद्देश्य व्यावसायिक रोड रेसिङ प्रवर्द्धन गर्नु, राइडर सुरक्षामा जोड दिनु र नेपाली मोटर स्पोर्ट्सलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउनु रहेको आयोजकले जनाएको छ ।
मोटरसाइकलको अन्तर्राष्ट्रिय महासंघ एफआईएमको समेत सहयोग रहेको सो इभेन्टको विजेताहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको अवसर प्रदान गरिने बताइएको छ ।