मादी आर्क पुल तीव्र निर्माण

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गकै सबैभन्दा लामो आर्क डिजाइनको मादी पुल निर्माणले तीव्रता पाएको छ।

पुलको काम छिटो सम्पन्न गर्न दैनिक करिब १३० जना कामदार खटाइएका छन्।

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको यो चार लेनको पुल यातायात सहज बनाउनुका साथै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले कलात्मक आर्क डिजाइनमा तयार भइरहेको छ।

हालसम्म पुलको ७४ प्रतिशत भौतिक प्रगति भइसकेको छ।

सम्झौताअनुसार समयमै काम नसकिएपछि ११ महिना म्याद थप गरिएको हो।

अहिले ढलानअघि फर्मा जडान, डण्डी तान्ने र टेका लगाउने काम भइरहेको छ। यो पुल एउटै बेसमा बनेको पृथ्वी राजमार्गकै पहिलो र सबैभन्दा लामो चार लेन पुल हुनेछ।

वर्षायामका कारण केही समय काम रोकिए पनि दसैँपछि पुनः निर्माणले गति लिएको छ। पुलमा छवटा स्पान रहनेछन्।

करिब ३१५ मिटर लामो यो पुल एक अर्ब २१ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ।

मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल सम्पन्न भइसकेका छन् भने ४१.४५ किलोमिटर सडक कालोपत्रे पनि पूरा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *