होण्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिको आधिकारिक सर्भिस सेन्टरका रूपमा चितवनमा होण्डा कारका ग्राहकलाई लक्षित गर्दै जेन्युन अटो वर्ल्डले अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर शुभारम्भ गरेको छ।
यसअघि जेन्युन अटोले टोयोटा ब्रान्डका कार तथा गाडीहरूको सर्भिस तथा स्पेयर पार्ट्स सेवा विगत १५ वर्षदेखि प्रदान गर्दै आएको जेन्युन अटो वर्ल्डका अध्यक्ष इन्द्र रेग्मीले जानकारी दिनुभयो।
अब दुवै जापानी ब्रान्डका कार तथा गाडीहरूको सर्भिस एकै स्थानमा उपलब्ध हुने उहाँले बताउनुभयो।
जेन्युन अटो वर्ल्डको अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योती तथा प्रबन्ध निर्देशक सिर्जना जोशीले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो।
होण्डा ग्राहकलाई मध्यनजर गर्दै बागमती प्रदेशअन्तर्गत चितवन आसपासका शहरहरूलाई लक्षित गरी होण्डासँग सहकार्यमा यो सर्भिस सेन्टर सुरु गरिएको जेन्युन अटो वर्ल्डका अध्यक्ष रेग्मीले स्पष्ट पार्नुभयो।




