महाकाली करिडोर निर्माणमा ढिलाइ

डडेल्धुराको जोगबुढाबाट २०६५ सालमा भीमदत्त नगरपालिका–९ टुँडिखेल आएका लोकबहादुर थापामगरलाई महाकाली करिडोर बन्ने खबरले ठूलो आशा जगाएको थियो।

सडक बनेपछि व्यापार, शिक्षा, स्वास्थ्य र यातायात सहज हुने अपेक्षा थियो। तर डेढ दशक बित्दा पनि सडक पूर्ण बनेको छैन।

हाल ट्रयाक खुलेको भए पनि यात्रा गर्न कठिन छ, वर्षातमा त बाटो बन्द नै हुन्छ।

सडक अभावमा बिरामी बोक्नुपर्ने, विद्यालय टाढा पर्ने र उत्पादन बिक्रीमा समस्या पर्ने स्थानीयले बताएका छन्।

डडेल्धुरा, बैतडी र दार्चुला हुँदै चीन सीमा पिलर नम्बर १ सम्म ४१३ किमी सडक निर्माणको योजना भए पनि बजेट अभाव र प्रक्रियागत उल्झनका कारण काम ठप्प छ।

चालु वर्षमा मात्र करिब २३ करोड रुपैयाँ बजेट छुट्याइएको छ, जबकि डेढ अर्बभन्दा बढी भुक्तानी बाँकी छ।

यसले सुदूरपश्चिमका करिब आठ लाख जनतालाई फाइदा पुर्‍याउने र व्यापार, पर्यटन, उद्योग तथा धार्मिक यात्रामा सुधार ल्याउने अपेक्षा गरिएको छ। तर ढिलाइले स्थानीयमा सुरुको उत्साह निराशामा परिणत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *