गत भदौ १५ गते विक्रम थापाले जापानमा आयोजित मोटरसाइकल रेसिङ प्रतियोगिताको उपाधि उचाले ।
टोकियो नजिकै चिबास्थित सोडेगौरा फरेस्ट रेसवेमा २,४०० मिटर लम्बाईको ट्रयाकमा आठ ल्याप पूरा गर्दै, विक्रम २२ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै च्याम्पियन बने ।
३७३ सीसीसम्मका सिंगल सिलिन्डर वा २५० सीसीसम्मका ट्विन सिलिन्डर मोटरसाइकलहरूको चौथो चरणको क्लब सिरिजमा विक्रम विजयी हुँदै पहिलो स्थानमा पुगे ।
जितेपछिको अनुभव विक्रमले सुनाए, ‘विश्वास नै लागिरहेको छैन, अहिले पनि हो कि होइन जस्तो लागि रहेको छ ।’
रेसमा च्याम्पियन भइसकेका विक्रमको बाइकसँको सम्बन्ध भने बाल्यकालमा नै जोडिएको थियो । विक्रम बाल्यकाल बनेपामा बित्यो । आफ्नो बुबाको बाइकमा मामाघर गएको सम्झना उनको मानसपटलमा आज पनि ताजा नै छ ।
विक्रम भन्छन्, ‘३–४ जना बुबाको एउटै बाइकमा बसेर मामाघर जान्थ्यौँ । त्यस्तै चलन थियो ।
अनि म बाइकको ट्याङ्कीमा बस्थेँ । त्यहीबेला ह्यान्डलबार समाउँदा नै बाइक चलाउन रहर लाग्न थालेको थियो । थाहै नपाई एउटा लगाव हुन थालेछ ।’
साथीले रेसिङ बाइक चिनाएको विक्रमले बताए । उनले भने, ‘मेरो धुलिखेलको साथी थियो–सुमित । उसले मलाई गुगलमा सुजुकी हायाबुसा बाइक देखायो ।
पहिले कक्षाको काम सकाएर गेम खेल्ने हुन्थ्यो, अब त सुजुकी देखेपछि बाइक हेर्न थालेँ । घरमा बुबाको बाइक त थियो, साथीले फोटो नै देखाएपछि भने एउटा लगाव हुन थाल्यो ।’
त्यसबेला उमेर सानो भएकोले विक्रमले बुबाको बाइक चलाउने कुरा नै भएन । तर, हालसम्म पनि आफ्नो बुबाको बाइक कहिले पनि नचलाएको विक्रमले सुनाए ।
कम्प्युटरको गेममा रमाउने विक्रम अब रेसिङ बाइकको तस्वीरमा भुल्न थाले । विक्रमलाई गुगलमा विभिन्न रेसिङ बाइक सर्च गर्ने र हेरेर रमाउने बानी लाग्यो ।
त्यसबेला इटालीका रेसर भ्यालेन्टिनो रोसी आफ्नो रेसिङ यात्राको शिखरमा थिए ।

सन् २००० देखि २०१० को दौरान रेसिङमा उनको खुबै चर्चा थियो । यसकारण पनि इन्टरनेटमा उनको तस्वीर आइरहन्थ्यो । रोसीको तस्वीरहरूले विक्रमको मष्तिस्कमा गहिरो छाप बनाएको थियो ।
रोसीको तस्वीरहरूले नै विक्रमलाई रेसिङसँग नजिक बनायो । ‘सर्च गर्दैगर्दा मैले रोसीको निलो रङ्गको यामाहा बाइक ‘गो!!!!!!!’ लोगो भएको निकै प्रसिद्ध बाइकको तस्वीर भेटाएँ ।
अनि यो फास्टेस्ट राइडर हो भन्ने पनि थाहा पाएँ । त्यसपछि रोसी, रोसी गर्दागर्दै उनको फ्यान भएँ,’ विक्रमले सुनाए ।
विक्रम यसरी प्रशंसक बनेकी उनले रोसीको बाइकको तस्वीर प्रिन्ट गरेर सबै इङ्क नै सकाउने पनि गर्थे । रोसीको तस्वीरबाट मोहित भएका विक्रमले हाँस्दै सुनाए,‘मेरो ठूलो दिदीको घरमा प्रिन्टर थियो ।
रोसीको फोटो खोज्यो, प्रिन्ट गर्यो, त्यसपछि घरमा टाँसL दियो । मैल रोसीको तस्वीरको कलर प्रिन्ट निकाल्दा निकाल्दा इङ्क नै सकाइदिन्थे । त्यसपछि सधैँ गाली खानुपर्थ्यो ।’
विस्तारै रेसिङ बाइकको तस्वीरमा रमाइरहेका विक्रमलाई बाइक चलाउने रहर पलायो । घरमा दिदीको हिरो होन्डाको स्ट्रिट स्कुटर थियो । जसलाई चलाउँदा उनको सानो दुर्घटना पनि भयो ।
‘सायद म त्यो बेला कक्षा ४ हो कि ५ मा पढ्थे । दिदीको स्ट्रिट भन्ने स्कुटर थियो । त्यसमा गियर थियो तर, क्लज थिएन । साधारण स्कुटरजस्तो थिएन मलाई साइकल जस्तो पनि लाग्थ्यो,’ विक्रमले भने, ‘साइकल एकदमै चलाउने तर, बाइक भने सिकिसकेको थिएँन ।
एक दिन दिदीको स्कुटर घरमा नै थियो । कस्तो हुन्छ चलाइदिम भनेर चलाएँ । कुदेपछि साइकल जस्तो लाग्यो तर, घुमाएर त्यही बाटोमा आउँदा सम्हाल्न नसक्दा पोलमा गएर जुध्यो ।’
त्यसपछि स्कुटरको फुटरेस्ट पनि बाङ्गियो । फलामले बनेको बाइकको संरचना कुचेर डल्लो पर्यो ।

घरअगाडि नै यस्तो भएकोले, आफ्नै घरमा बस्ने एक जापानीले स्कुटर तानेर घर लगेको विक्रमले सुनाए ।
उनले त्यो प्रसङ्गबारे घरमा पनि भनेनन् । अनि एक हप्ता जति त्यो स्कुटर उनले छोएनन् । पछि घरमा थाहा पाए । विस्तारै कुरा सेयालो पनि तर, उनको बाइकप्रतिको लगाव भने कम भएन ।
त्यसपछि विक्रमले टोलमा दाइहरूको बाइक बिस्तारै चलाउन थाले । अनि घरमा जो आए पनि बाइक लिएर गइदिने विक्रमको बानीजस्तै बन्न थाल्यो । त्यसरी नै उनले बाइक चलाउन थाले तर, सिक्छु भनेर कहिले नसिकेको पनि विक्रमले सुनाए ।
विक्रम बाइक एकदम्मै हाँक्थे । हावा बेगसँग तीव्र गतिमा बाइक चलाउनु सारै सिपालु थिए । तर, उनको आफ्नै बाइक भने थिएन ।
उच्च माध्यामिकमा बाइक नभए पनि साथीहरूले उनलाई बाइक चलाउन दिन्थे । पछि साथीहरूसँग बाजी हालेर सडकमा अनौपचारिक रेस पनि गर्न थाले । जो जित्यो उसले पैसा पायो किसिमको रेसमा उनी सहभागी भइरहन्थे ।
‘हामी साथीहरू राति राति रेस गर्थ्यौँ । दरबारमार्गबाट दक्षिण जाने बाटोमा हाम्रो रेस हुन्थ्यो । जसले जित्यो उसले पैसा जित्यो । त्यो पूर्ण रूपमा अनौपचारिक थियो ।
रमाइलोका लागि गर्थ्यौँ,’ विक्रमले सुनाए,‘साथीले बुबाको बाइक ल्याउने मैले साथीहरूको नै बाइक पनि धेरै नि चलाएँ । तीव्र गतिमा रेस गर्ने गर्थेँ । त्यस्तो गैरकानुनी रेस पनि हुन्छ भनेर सुनेको पनि थियौँ । तर सहभागी भएको थिएँन ।’
विक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा हुने मोटोजीपी रेस थाहा थियो । तर, नेपालमा ट्रयाक नभए पनि अफिसियल रेस हुन्छ भन्ने थाहा थिएन । सायद हुँदैन पनि थियो होला विक्रम सुनाउँछन् ।
युवा जोसले भरिपूर्ण विक्रम बाइक स्टन्टमा पनि खुबै रमाउँथे । त्यसबेला समूह बनाएर बाइक स्टन्ट गर्ने थुप्रै समूहहरू पनि थिए ।
विक्रमको पनि एउटा समूह थियो– मेन्टल डिगर्स । पछि जब रेसमान्डु भनेर विक्रमले थाहा पाए, त्यसपछि उनको बाइकिङमा एउटा नयाँ मोड आयो ।
विक्रमले भने, ‘सन् २०१३ मा जब रेसमान्डु भनेर थाहा पाए । त्यही बेला होला नेपालमा पहिलो औपचारिक रेस भनेर थाहा पाएको । पहिलो नै होला, मलाई ज्ञान नभएको पनि हुनसक्छ । जेहोस् रेसमान्डुको पहिलो सिजनबाट नै मेरो रेसिङ यात्राको सुरुवात भयो ।’
तर, पहिलो रेसमा सहभागी हुन भने उनलाई सहज भने भएन । रेसको आसपासको समयमा नै घरबाट बाइक किनिदिएका थिए ।
तर, स्वतन्त्र रूपमा भने उनलाई बाइक चलाउनुका लागि अनुमति थिएन । उनलाई बुबाले कलेज आजजाउको शर्त राखेरमात्र बाइक किनिदिएका थिए ।
‘बुबाले ‘कन्ट्रयाक्ट’ जसरी नै बाइक ‘केवल कलेज आउने र जाने प्रयोजनका लागि’ भनेर एउटा पत्रमा हस्ताक्षर पनि गराउनु भएको थियो,’ विक्रमले हाँस्दै सुनाए,‘यस कारण पनि म रेसमा जान्छु भनेर भन्न मिलेन ।
बिदाको दिन पनि थियो । मैले मेरो कलेजमा परीक्षा छ । बिदाको दिन कलेज ड्रेस लगाएर निस्किन पनि मिलेन । अनि म फेल भएकोले पुरक परीक्षा दिन जानुपर्नेछ भनेर निस्केको थिएँ ।’
तर, रेसमा सहभागी हुन पनि त रेसिङ सुट चाहियो, जुन विक्रमसँग थिएन । घरबाट निस्केर उनी साथीको घरमा गए । साथीले अर्कै दाइको लुगा मागेर ल्याइदिएपछि रेसमा विक्रमले भाग लिन पाएका थिए ।
उनले भने, ‘मेरो संगम भन्ने साथीले सुशान्त भन्ने साथीसँग लुगा मागेको थियो । फेरि सुशान्तले पनि मलाई ठिक्क हुने लुगा अर्को दाईसँग मागेर ल्याइ दियो ।’
रेसमान्डुको रेसमा भाग लिन जानुभन्दा एक दिनअघि पनि माहौल बुझ्नका लागि विक्रम गएका थिए ।
त्यहाँको वातावरण देखेर उनी वाक भए । ‘केटाहरू त ट्युन गरेर आउने । टायर पनि महँगो प्रयोग गर्ने ।
हामीलाई ट्युन गर्नुपर्छ, टायर यस्तो हुनुपर्छ भन्ने थाहा नै थिएन । हामीलाई त जे बाइक छ त्यो घोट्ने मात्र हो भन्ने थियो,’ उनले सुनाए ।
माहौल जस्तो भए पनि विक्रमले आफ्नो क्षमता देखाउन भने सफल भए । उनी अभ्यासमा, क्वालिफाइङमा पनि पहिलो भए । तर, फाइनल रेसमा भने उनी लडे ।
‘म दोस्रो स्थानमा थिएँ । दोस्रोबाट ओभरटेक गर्न खोज्दा दुईवटै बाइक ठोकियो, अनि लड्यौँ । त्यस्तो भए पनि उत्कृष्ट ५ मा त परेको थिएँ,’ लडेको प्रसङ्गबारे उनले सुनाए ।
घरबाट पूरक परीक्षा दिन्छु भनेर गएका विक्रमको रेस गरेको तस्वीर विभिन्न सञ्चारमाध्यममा आयो । त्यसपछि घरमा थाहा नहुने त कुरै भएन । घरमा थाहा भए पनि आफ्नो त्यस्तो कडा उपचार भने नभएको विक्रमले सुनाए ।
‘फ्रन्ट पेजमा नै फोटो, नाम विक्रम थापा भनेर नै पत्रिकामा छापिएको थियो । त्यही भएर पनि घरबाट कुनै नराम्रो प्रतिक्रिया आएन,’ उनले आफू घरपरिवारको क्रोधबाट बचेको प्रसङ्ग सुनाए ।
त्यसबेला उत्कृष्ट ५–८ रेसरलाई राष्ट्रिय खेलाडी भनेर भारतको प्रतियोगितामा लाने भन्ने कुरा आयो । सन् २०१३ मा नै करिब ८ जना रेसर पनि भारत लगियो । त्यसमा विक्रम पनि थिए ।
पहिलो पटक नेपालको रेसर भारतमा रेसिङको लागि जाँदै थियो । तर, भारतको माहौल सोचेभन्दा निकै फरक रहेछ ।
‘भारतमा पुगेपछि थाहा भयो । हामीले लगेको हेल्मेट पनि लगाउन नमिल्ने रहेछ । हाम्रो पन्जा पनि लगाउन नमिल्ने । सहभागीको सुरक्षाका लागि बनाइएको नियम त नेपालको प्रतियोगितासँग केही पनि नमिल्ने ।
हामीसँग रेसिङ सुट पनि थिएन, बुट पनि थिएन,’ विक्रमले सुनाए ।
भारतमा रेसिङ प्रतियोगिताको आयोजकको प्रश्न उदृत गर्दै विक्रम भन्छन्,‘तिमीहरू बाइक कुदाउने हो ? हामीले हो, भन्यौँ, रेसिङ सुट खोइ ? भन्छन् अनि हेल्मेट नि हुन्न, पन्जा पनि हुँदैन, कसरी रेस गर्ने ? भनेर सोधछन् ।’
पछि नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का पदाधिकारीहरूले कुरा गरेर केही प्रबन्ध गरेपछि त्यहाँको नै रेसिङ सुट लगाएर रेस गर्ने कुरा मिल्यो । तर, प्रतियोगितामा पहिरन मात्र चुनौती बनेन शरीरको स्वरूपको पनि चुनौती थियो ।
‘त्यसबेला हामीमध्ये कोही एकदम्मै पातलो, कोही मोटे, कोही यत्रो पाखुरा भएको जिम गर्ने । रेसर भनेको एथलेटिक बडी हुनुपर्छ भनेर त थाहा नै थिएन ।
नेपालमा त यतिकै चलाइरहेको बानी,’ विक्रमले सुनाए, ‘रेसिङ सुट त लगायौं । तर, कसैको यता छिर्दैन कसैको उता छिर्दैन । कसैको पूरा ह्वाङह्वाङ हल्लिरहेको छ ।’
जे जस्तो भए पनि रेसिङ सुट लगाएर नेपाली खेलाडीहरूले भाग लिए । तर, प्रतिस्पर्धा सहज भने पक्कै भएन ।
‘बाइक त हामीले चलायौँ । तर, हामीले चलाउँदै गर्दा बाँकीले त घुमाएर आएर हामीलाई पूरा ओभरल्याप हान्दिन्थे । हामी कुदाइरहेका हुन्थ्यो । कसैले यता कसैले उताबाट ओभरटेक गरिदिन्थे,’ उनले भने,‘त्यो त हाम्रो पहिलो अनुभव थियो । त्यही भएर रमाएर आयौँ ।’
भारतको अनुभवपछि भने विक्रमलाई औपचारिक तालिम लिने रहर भयो । तालिम कता गराउँदो रहेछ भनेर बुझ्दै गर्दा जापानमा गराउने उनले थाहा पाए । आफ्नो बुबा पनि जापानमा भएकोले उनलाई केही सहज भयो ।
त्यसपछि उनी तालिम लिनका लागि जापान गए । यसपछि विक्रमले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसहरूमा नेपालको प्रतिनिधित्व पनि गरे ।
रेसमान्डु हुँदै नेपालमा आफ्नो खेलकुद करिअर सुरु गरेका भेट्रान रेसर विक्रम करिब एक दशकदेखि जापानमा बस्दै आएका छन् । त्यहाँ उनी व्यवसायमा संलग्न हुनुका साथै रेसिङ ट्रयाकमा पनि स्थापित भएका छन् ।
विक्रमलाई नेपाली मोटरसाइकल रेसिङका अग्रणी तथा अनुभवी खेलाडीमध्ये एक का रूपमा चिनिन्छ । उनको पहिलो औपचारिक रेस नेपालको पहिलो र लोकप्रिय रेसिङ प्लेटफर्म रेसमाण्डुबाट नै सुरु भयो । सोही प्लेटफर्ममार्फत उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यस खेलको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान दिएका छन्।
नेपालमा थुप्रै प्रतियोगितामा पोडियम फिनिस गरिसकेका विक्रमले एसिया कप अफ रोड रेसिङ र सुजुकी एसियन च्यालेञ्जजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि प्रभावशाली प्रदर्शन गरेका छन् ।
सन् २०१४ मा उनलाई फर्मुला रेसिङ तयारीका लागि बेइजिङमा भएको एफआईएको यङ ड्राइभर्स एक्सिलेन्स एकेडेमी प्रशिक्षणमा नेपालबाट चयन गरिएको थियो ।
त्यस्तै, सन् २०१८ मा उनले जापानमा भएको टीके रेन्टल बाइक सिरिजको एक्सपर्ट क्लास उपाधि पनि जितेका थिए। आफ्ना उपलब्धिहरूको सम्मानस्वरूप नेपाल अटोमोबाइल्स एसोसिएशनले गत वर्ष उनलाई ‘च्याम्पियन्स अवार्ड’ प्रदान गरेको थियो।
विक्रमले हाल जापानमा लाखौँ नेपाली काम गर्दै आएका छन् भने त्यहाँको मोटरस्पोट्र्स प्रतियोगितामा सक्रिय सहभागीता जनाउँदै आएका छन् । विक्रमले गत महिना नेपाल र जापान दुवै ठाउँमा सञ्चालन हुने गरी “मोटो–जाप नेपाल” नामक क्लब स्थापना गर्ने तयारी सुरु भइसकेको पनि जानकारी दिए ।
(जापानमा रहेका विक्रम थापासँगको अन्तर्वार्तामा आधारित)
Post Views: 402