बाढीपहिरो क्षतिमा १२ अर्ब खर्च

हालैको अविरल वर्षा, बाढी र पहिरोले देशका धेरै सडक र पुलहरू क्षतिग्रस्त भएका छन्।

ती पुनर्निर्माण गर्न करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, यस वर्षका विपद्बाट बिग्रिएका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल मर्मतका लागि मात्र १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्छ।

गत वर्षका क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि अझै १ अर्ब ७० करोड रुपैयाँ बाँकी छ।

ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङका अनुसार अवरुद्ध सडकहरू छिट्टै सञ्चालनमा ल्याउने कार्य प्राथमिकतामा राखिएको छ।

उपकरण र जनशक्ति परिचालन भइसकेको र मन्त्रालयले लगातार अनुगमन गरिरहेको छ।

सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ, जसको मर्मतमा करिब डेढ अर्ब रुपैयाँ लाग्नेछ।

कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिनलगायत राजमार्ग मर्मतका लागि ३ अर्ब ७७ करोड रुपैयाँ आवश्यक देखिएको छ।

यस्तै, १७ स्थायी पुल पुनर्निर्माणमा ४ अर्ब ५२ करोड, नयाँ बेलिब्रिजका लागि ८० करोड, र वैकल्पिक सडकका लागि १ अर्ब ५९ करोड रुपैयाँ खर्च लाग्नेछ।

मन्त्रालयले बाढीपहिरोले मुख्य यातायात सञ्जालमा ठूलो असर पारेकाले तत्काल पुनःसञ्चालन र दीर्घकालीन दिगो पुनर्निर्माणमा जोड दिइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *