अन्नपूर्ण गाउँपालिका-८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन्।
गत असारको तेस्रो साता पहिरोले भत्काएको नागी-राम्चे सडक स्थानीयवासीले आफ्नै श्रमदानबाट मर्मत गरी यातायात सञ्चालनमा ल्याएका हुन्। राम्चेका फसबहादुर गर्बुजाका अनुसार करिब ७५ जनाले दिनभर श्रमदान गरे।
करीब दुई महिनासम्म अवरुद्ध भएको सडकले स्थानीय बासिन्दाको आवतजावत र आलु लगायत कृषि उपज बजार पठाउन समस्या बनाएको थियो।
सरकारी निकायबाट सहयोग नपाएपछि सबै घरका सदस्यले एक-एक जनाले श्रमदान गरेर सडक खोलिएको उनले बताए।
पहिरोले भासिएको करिब सात मिटर सडकमा जगदेखि पर्खाल निर्माण गरी जिप, ट्याक्टर र मोटरसाइकल आवतजावत गर्न मिल्ने बनाइएको छ।
राम्चे–नागी सडक अवरुद्ध हुँदा बासिन्दाले वडा कार्यालय, स्वास्थ्यचौकीको सेवा लिन समस्या भोगिरहेका थिए। साथै, हिमाञ्चल मावि र अन्य विद्यालयका विद्यार्थीलाई पनि अब सहज आवतजावत हुने भएको छ।