नाडाका नि. अध्यक्ष ध्रुब थापाको घरमा आगजनी

लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ का मल्टिपल काउन्सिल चियरपर्सन लायन मिलन थापा तथा मल्टिपल काउन्सिल मेम्बर तथा डिष्ट्रिक्ट ३२५ जे नेपालका पिडिजी लायन ध्रुब बहादुर थापाको घरमा तोडफोड र आगजनी भएको छ ।

जेनजी प्रदर्शनकारीहरुले पोखराको नयाँ बजारस्थित घरमा आगजनी र तोडफोड गरेका हुन् । घर पूर्ण रुपमा ध्वस्त भएको छ ।

गाडीको शो रुम समेत रहेको उक्त घरमा भएको आगजनीबाट करोडौंको धनमाल नष्ट भएको छ । आगोमा जलेर एक युवतीको मृत्यु भएको छ ।

डिष्ट्रिक्ट ३२५ जे नेपालका चिफ एडमिनिष्ट्रेटर लायन रामराजा थापाका अनुसार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दु कुमार थापाको घरमा आगजनी गर्न आएका प्रदर्शनकारीहरुले उनका भाई, नाडाका निबर्तमान अध्यक्ष ध्रुब थापाको घरमा पनि आगजनी गरेका हुन् ।

व्यवसाय र समाजसेवा दुवैमा सक्रिय थापा दम्पती अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

आन्दोलनकारीले लेकसाइडस्थित मन्त्री थापाको अंशुभरा ग्रुपको भवनमा पनि आगो लगाएका थिए । त्यहाँ पनि जलेर एक महिलाको मृत्यु भएको छ ।

आन्दोलनकारीले मन्त्री थापाको घर, व्यवसायिक प्रतिष्ठान र बगैंचा रिसोर्टमा पनि लुटपाट, तोडफोड र आगजनी गरेका छन् ।

उनीहरुले पोखरा महानगरपालिकाका मेयर तथा पिडिजी लायन धनराज आचार्यको घरमा आगजनी गरेका छन् ।

घटनाप्रति लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर लायन मिलनबाबु मल्लले दुःख व्यक्त गरेका छन् ।

उनले जीवनभर समाजसेवा, उद्यमशीलता र मानवीय योगदानमा समर्पित व्यक्तित्वहरूलाई समेत यस्तो अवस्थाको सामना गर्नुपरेको यथार्थप्रति अत्यन्त दुःखी भएका जनाएका छन् ।

उनले सम्पूर्ण लायन्स सदस्यहरू लायन मिलन थापा र लायन ध्रुब थापाको साथमा रहेको बताउँदै दृढ रहन, हिम्मतका साथ यो चुनौतीपूर्ण अवस्थालाई सामना गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *