चिनियाँ अटो कम्पनी बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङ ले विश्वकै सबैभन्दा तीव्र गतिमा दौडने विद्युतीय गाडी (ईभी)को नयाँ रेकर्ड बनाएको छ।
जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग ट्रयाक मा याङवाङको नयाँ मोडल यु९ ट्रयाक एडिसन सुपरकार ले अगस्ट ८ मा ४७२.४१ किलोमिटर प्रतिघण्टाको स्पिड निकाल्दै नयाँ ग्लोबल रेकर्ड कायम गरेको हो।
यो गाडीलाई व्यावसायिक ड्राइभर मार्क बासेङ ले चलाएका थिए। उनी आफैंले गतवर्ष बनाएको विश्व रेकर्ड यसपटक तोड्न सफल भए।
नयाँ मोडलमा अत्याधुनिक ई४ प्लेटफर्म, १२०० भोल्ट अल्ट्रा–हाई भोल्टेज सिस्टम, ३०,००० आरपीएम मोटर, क्वाड–मोटर टर्क–भेक्टरिङ र इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम जस्ता प्रविधि प्रयोग गरिएको छ। यसले गाडीलाई अत्यधिक स्पिडमा पनि सुरक्षित र स्थिर राख्छ।
याङवाङ यु९ ट्रयाक एडिसन चीनमा बिक्रीमा रहेको यु९ को सुधारिएको संस्करण हो। यसको शक्तिशाली मोटरले ३,००० पीएस आउटपुट दिने बताइएको छ।
यी सबै प्राविधिक दक्षता र सुधारका कारण यो मोडलले विश्वकै सबैभन्दा तीव्र गतिको ईभीको मान्यता पाएको छ।