काठमाडौं – यातायात व्यवस्था विभागले हिजो जारी गरेको सूचना सार्वजनिक भएपछि धेरै सवारीधनीहरूमा भ्रम फैलिएको छ।
सूचनामा एम्बोस्ड नम्बर प्लेट जडान गर्ने विषयलाई अनावश्यक रूपमा घुमाइफिराई प्रस्तुत गरिएको भए पनि, विभागले पहिले नै गरेको निर्णयमा कुनै परिवर्तन नभएको प्रष्ट भएको छ।
नामसारी, नवीकरण वा दर्ताजस्ता कामका लागि यातायात कार्यालय जाँदा एम्बोस्ड नम्बर प्लेटको कर तिरेपछि मात्र अन्य प्रक्रिया अघि बढ्नेछ।
यदि नम्बर प्लेटको कर नतिरी सवारीधनीले कार्यालय पुगेमा उनीहरूको काम नहुने विभागले स्पष्ट पारेको छ। यसरी हेर्दा, एम्बोस्ड नम्बर प्लेट अनिवार्य नै हुने पक्का भएको छ।
सरकारले यो प्रणालीलाई सडक सुरक्षा, राजस्व पारदर्शिता र चोरी नियन्त्रण गर्ने उद्देश्यले अघि बढाएको हो।
छिमेकी मुलुकहरूमा यो प्रणाली वर्षौंअघि नै लागू भइसकेको छ भने नेपालमा भने लामो विवाद र ढिलाइपछि मात्रै यो प्रक्रिया अघि बढाइएको हो।
तर नेपालमा यसलाई सुरुदेखि नै आलोचनाको सामना गर्नुपरेको छ।
जनस्तरमा यसबारे व्यापक विरोध हुनुका प्रमुख कारणमध्ये दुईवटा हुन्।
पहिलो, नम्बर प्लेट जडान गर्न तोकिएको शुल्क सामान्य सवारीधनीका लागि अत्यधिक महँगो भएको छ।
दोस्रो, नम्बर प्लेटमा नेपालीको पहिचान मानिने देवनागरी लिपि प्रयोग नगरी केवल अंग्रेजी लिपिमा सीमित गरिएको छ।
यसले नेपाली भाषा र संस्कृतिको अवहेलना भएको भावना धेरैलाई भएको छ।
विशेषज्ञहरूले अनुसार, हिजो विभागले जारी गरेको सूचनालाई धेरै मिडियाले जस्ताको तस्तै समाचार बनाएर प्रकाशित गरे, तर यसको गहिरो विश्लेषण भने भएन।
यसले सवारीधनीहरू अझै अन्योलमा परेको अवस्था देखाएको छ। विभागले स्पष्ट र सजिलो ढंगले जनतालाई जानकारी दिनुपर्ने माग बढ्दै गएको छ।