बनिनसक्दै उक्कियो कालोपत्रे

चौदण्डीगढी नगरपालिका– ४ मा गरिएको कालोपत्रे तत्कालै उक्किएर सडक खाल्डाखुल्डी बनेको छ ।

संघीय सरकारको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गतको ६८ लाख ६३ हजार पाँच सय ७७ रुपैयाँ बजेटबाट स्थानीय चटपटे टोल–बसाहा थान–वर्षेडाँडा–गंगटे, माडिवास हुँदै बेल्टार सडकखण्डको चटपटे टोलमा गरिएको कालोपत्रे उक्किएको हो ।

उक्त क्षेत्रमा झन्डै चार सय ९० मिटर कालोपत्रे गरिएको थियो ।

सीताराम कन्स्ट्रक्सन, बेल्टारसँग १२ वैशाखमा सम्झौता गरी २० असारमा सक्नुपर्ने गरी ठेक्का लागेको थियो ।

तर, ठेकेदारले ढिला सुरु गरेको र काम सक्न हतार गरेकाले गुणस्तरहीन कालोपत्रे भएको स्थानीय गणेश पुङ्मा राईले आरोप लगाए ।

उनले भने, ‘उक्त सडकमा एक सय २६ मिटर नालीको समेत काम गर्नुपर्ने थियो । अहिले त्यसको पनि काम भएको छैन ।’

उनका अनुसार चार सय ९० मिटर लम्बाइको उक्त सडकमा एक–एक मिटर सोल्जर र ५.५ मिटर ब्ल्याक टप हुनुपर्ने हो । तर, सो मापदण्डसमेत पूरा नभएको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार निर्माण कम्पनी र सडक विभागको मिलेमतोमा गुणस्तरहीन काम भएको हो ।

सडकको कालोपत्रे उक्किएपछि उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सडक डिभिजन कार्यालय लाहानका प्रमुख आशुतोष कर्णलाई पुनः मर्मत गर्न निर्देशन दिएका छन् ।

‘राज्यले गरेको विकास निर्माणको लगानीमा मापदण्डविपरीत काम गर्ने कसैलाई छुट हुँदैन । त्यस कारण पुनः मर्मत गर्न भनेको थिएँ,’ उनले भने ।

सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले उक्त क्षेत्रको कालोपत्रेमा समस्या आएकाले दुईजना इन्जिनियरलाई स्थलगत अवलोकन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताए ।

उक्त सडक असार मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने बाध्यता भएको भए पनि निर्माण व्यवसायीले काम गर्दा–गर्दै केही ढिला भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *