आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै नेपालको अटोमोबाइल क्षेत्रमा चहलपहल बढ्ने निश्चित छ ।
गाडी बिक्रीका दृष्टिकोणले आगामी आ.ब. कस्तो अवस्थामा रहन्छ यसै भन्न नसकिएपनि व्यावसायिक क्षेत्रमा चहलपहल भने बढ्ने देखिएको छ ।
बिगतमा ‘नाडा अटो शो’ मात्रै हुँदै आइरहेको अब ‘नाइमा मोबिलिटी शो’समेत हुँदैछ । त्यो पनि ९ दिनको अन्तरमा दुई ठूला शो आयोजना हुनेछन् ।
बजेट भाषणमा बिद्युतीय गाडीको कर बढ्ने पूर्व अनुमानसहित कम्पनीहरुले धेरै गाडी भित्र्याएका थिए । ती गाडीहरु दसैं अगाडि नै बुकिङ गराइसक्नुपर्ने दबाब कम्पनीहरुसँग छ ।
त्यसैले पनि दुवै अटो शोमा कम्पनीहरुले भारी छुटसहित विशेष अफर ल्याउन सक्ने अनुमान गर्न सकिन्छ ।
कम्पनीहरुबीच हुने अफर प्रतिस्पर्धाले पनि आगामी आबको सुरुवातबाटै अटोमोबाइल क्षेत्रमा थप चहलपहल ल्याउनेछ ।
दुई फरक फरक अटो शोबीच हुने प्रतिस्पर्धा अझै रोचक बन्नेछ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ३ गतेबाट ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो गर्नेछ ।
हालै मात्रै स्थापना भएको संस्था नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नाडा अटो शोलाई काउन्टर दिने भएको छ ।
नाइमा मोबिलिटी शो भृकुटीमण्डपमा साउन २१ देखि २५ सम्म हुँदैछ ।
नाइमा मोबिलिटी शोमा देखिने प्राय ब्राण्डहरु नाडा अटो शोमा देखिने छैन भने नाडामा रहने प्राय ब्राण्ड नाइमामा देख्न पाइने छैन ।
अटो कम्पोनेन्टतर्फः Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLO
कम्पोनेन्टका स्टलहरु नाडा अटो शोमा मात्रै रहनेछन् । बिवाइडी, रोयल इन्फिल्ड, कामा र डिएफएसकेको स्टल मात्रै दुवै शोमा दर्शकले अवलोकन गर्न पाउनेछन् ।
दुई वटा शो नजिकिएसँगै गाडी बिक्रेताहरु त्यसको तयारीमा जुटिसकेका छन् । आकर्षक अफर ल्याउने गरी उनीहरुले रणनीति बनाएका छन् ।
साउनमा नाइमा मोबिलिटी शो आयोजना भइरहँदा केही प्रतिष्ठित ब्राण्ड र कम्पनीहरु बाहिरै रहनेछन् ।
यद्यपि नाइमा मोबिलिटी शोमा सहभागी नभएपनि उनीहरुले त्यही समयलाई मध्यनजर गर्दै आकर्षक अफर ल्याउने आन्तरिक तयारी भने गरिसकेका छन् । शोरुमहरुमा एक्स्चेन्ज मेलासहित विभिन्न अफरहरुसहितको क्याम्पियन गर्ने रणनीति उनीहरुको छ ।
त्यसैगरी नाइमा मोबिलिटी शो सम्पन्न भएपछि नाडामा नदेखिने ब्राण्डहरुले नाडा अटो शोलाई काउन्टर दिने गरी चाडपर्व अफरसहित शोरुम फेस्टिभल गर्ने तयारीमा प्राय कम्पनीहरु जुटिसकेका छन् ।
‘आगामी आब अटोमोबाइल क्षेत्रका लागि फरक खालको हुनेछ ।
दुई वटा अटो शो आयोजना हुँदा र कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा बढ्ने देखिन्छ,’ एक आयातकर्ताले भने । कम्पनीहरुबीच छुट र अफरमा तिब्र प्रतिस्पर्धा हुँदा त्यसको लाभ ग्राहकलाई हुनेछ ।