पछिल्लो तथ्याङ्कअनुसार गत जुन महिनामा बेलायतमा बिक्री भएका प्रत्येक १० कारमध्ये एउटा चीनमा निर्मित थियो। यो सङ्ख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा निकै बढी हो।
नयाँ चिनियाँ ब्राण्डजस्तै बीवाईडी, जेइकु र ओमोडा बेलायतमा तीव्र गतिमा लोकप्रिय बनिरहेका छन् ।
सोसाइटी अफ मोटर म्यानुफ्याकचरर्स एन्ड ट्रेडर्सद्वारा जारी गरिएको पछिल्लो तथ्याङ्कअनुसार, एमजी र पोलस्टारजस्ता चिनियाँ स्वामित्वका ब्रान्डहरूद्वारा उत्पादित करिब १८ हजार ९४४ कारहरू जुन महिनामा बिक्री भएका थिए, जुन बेलायतको कुल कार बिक्रीको १० प्रतिशत हो। गत वर्षको सोही महिनामा यो आँकडा ६ प्रतिशत मात्र थियो।
यस वर्षको पहिलो ६ महिनामा, बेलायतमा बिक्री भएका कूल कारमध्ये ८ प्रतिशत भन्दा बढी रहेको थियो ।
प्रत्येक १२ मध्ये १ वटा कार चिनियाँ निर्मित थिए। यो सङ्ख्या सन् २०२३/२०२४ मा ५ प्रतिशत मात्र थियो। यी कारहरू प्रायः विद्युतीय सवारीसाधन भए पनि, सबै विद्युतीय नै भने थिएनन्।
पछिल्ला केही महिनामा बेलायतमा चिनियाँ कारको बिक्रीमा विशेष गरी वृद्धि देखिएको छ ।
यो समयमा अधिकांश अन्य जी ७ देशहरूले चिनियाँ आयातमा अतिरिक्त कर (ट्यारिफ) लगाएका छन्।
जेटो एनालाइटिक्सले यस वर्षको पहिलो पाँच महिनाका लागि गरेको अध्ययनले युरोपेली संघ (ईयू) मा चिनियाँ ब्रान्डहरूको बजार हिस्सा ४.३ प्रतिशत मात्र देखाएको छ ।
यसमध्ये जर्मनीमा १.६ प्रतिशत र फ्रान्समा २.७ प्रतिशत रहँदा स्पेनमा भने यो ९.२ प्रतिशत थियो।
विश्लेषक फिलिप मुनोजले भने, ‘बेलायतले ट्यारिफ नलगाउनु चिनियाँहरूका लागि ठूलो अवसर हो, साथै विद्युतीय कारहरूको लोकप्रियता पनि यसको मुख्य कारण हो।’