विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँ र कास्कीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित सडकमा बा.७४ प ४००५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–८ भेटघाट चोक बस्ने ७० वर्षीय कुलबहादुर आचार्यको बुधवार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका– २९ भण्डार ढिकस्थित सडकमा ग. १ प. १९९ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धिबहादुर परियारको बुधवार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।