टिडिएस मोटर र्याली तथा अटो जिमखाना प्रतियोगितामा आशिष र वर्ष विजयी भएका छन्।
बागमती अटोमोबाइल्स एसोसिएसनको आयोजनामा र भोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन ओभरल्याण्डको व्यवस्थापनमा भएको उक्त इभेन्टमा ३२ वटा गाडीसहित ७७ जना चालकहरूले प्रतिस्पर्धा गरेका थिए।
र्याली रोयल टुलिप, ग्वार्कोबाट सुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी, पनौती हुँदै बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कुलमा सम्पन्न भएको थियो।
प्रतियोगितामा १८ जना दक्ष मार्शलहरूको टोली परिचालन गरिएको थियो।
अटो जिमखाना र र्यालीमा सहभागी हुने खेलाडीहरूका लागि रु २ लाखको पुरस्कार, शिल्ड, प्रमाणपत्र तथा गिफ्ट ह्याम्परको व्यवस्था गरिएको थियो।
महिला सशक्तिकरण, ड्राइभ टुरिजम र एडभेञ्चर मोटर स्पोर्ट्सको संयोजन रहेको यो प्रतियोगिता बागमती प्रदेशको आर्थिक मामिला मन्त्रीबाट उद्घाटन गरिएको थियो भने समापन समारोहमा बागमती प्रदेशका सचिवको उपस्थिति रहेको थियो।
नेपाल अटोमोबाइल्स एसोसिएसनको प्राविधिक स्वीकृति र सहयोगमा सम्पन्न यस कार्यक्रमको सफलता र रोचक सहभागिताका कारण आयोजकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।