हुलाकी सडक अधुरै छाडेर ठेकेदार सम्पर्कविहीन

राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषित हुलाकी राजमार्गअन्तर्गत विराटनगर हाटखोलादेखि रामचोकसम्मको ६ किलोमिटर सडक खण्ड पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।

निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दासमेत जम्मा २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

२०७६ सालमा काठमाडौंस्थित श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालिले मोरङको ६ किलोमिटर खण्डको ठेक्का लिएको थियो ।

करिब ७७ करोड रुपैयाँको ठेक्कामा हालसम्म १६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । तर, कामले गति लिन सकेको छैन ।

आयोजना प्रमुख युवराज पोखरेलका अनुसार मोरङ खण्डमा पर्ने ४४ किलोमिटरमध्ये यो खण्ड झनै जटिल अवस्थामा छ ।

ठेकेदार कम्पनीले समयमै काम अघि नबढाएपछि सडक वर्षायाममा हिलाम्य र घाम लाग्दा धुलाम्य बनेको छ । सुरुमा कम्पनीले सिधै काम नगरी पेटी ठेकेदारमार्फत निर्माण सुरु गरेको थियो ।

सुरुमा भुपाल श्रेष्ठले जिम्मा लिएका थिए । तर केही महिनामै काम छाडेपछि आयोजना थप अलपत्र बन्यो । पछिल्लो पाँच महिनादेखि निर्माणको जिम्मा अभिषेक गिरीले लिएका छन् ।

उनले अधुरो साइड ड्रेन निर्माण कार्य त थालेका छन् । तर कामको गति अत्यन्तै सुस्त छ ।

‘आयोजनाले अहिलेसम्म भुक्तानी नदिएकाले काम अघि बढाउन समस्या भइरहेको छ,’ गिरी भन्छन्, ‘पोल हटाउने काम बल्ल सुरु भएको छ ।’

स्थानीय तहदेखि संघीय सांसदसम्मले पटक–पटक दबाब दिँदै सडक निर्माणमा गति ल्याउन पहल गरे पनि ठोस परिणाम आउन सकेको छैन ।

तीन वर्षअघि मोरङ क्षेत्र नं. २ का सांसद ऋषिकेश पोखरेल, क्षेत्र नं. ५ का योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लीलावल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याललगायत स्थानीय तहका प्रमुखहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै निर्माण कम्पनीलाई तत्काल काम थाल्न चेतावनीसमेत दिएका थिए ।

स्थानीयले पनि पटक–पटक जिल्ला प्रशासन कार्यालय घेराउ, चक्का जामजस्ता आन्दोलन गरेका थिए ।

तर ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि आन्दोलन चर्कन सकेन, जनप्रतिनिधिहरू आफैं थाकेका छन् ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीका प्रमुख पोखरेलका अनुसार सडक निर्माणका लागि ठेक्का लागत ७७ करोड हो ।

‘तर हालसम्म १६ करोड मात्र भुक्तानी भएको छ,’ उनले भने, ‘बजेट अभावकै कारण यो वर्ष पनि भुक्तानी पर्याप्त नभएको हो ।’

निर्माण सुरु गर्दा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि म्याद पटक–पटक थपिँदै आएको छ ।

अब नयाँ आर्थिक वर्षमा पुन: म्याद थप गरिने तयारी भइरहेको पोखरेलले बताए ।

यद्यपि म्याद त थपिने भए पनि लागत भने नबढाइने स्पष्ट पारिएको छ । वर्षायाममा काम गर्न कठिन हुने भन्दै निर्माण कम्पनीले तत्कालका लागि काम रोक्ने तयारी गरेको छ ।

बर्खापछि मात्रै सडकको बाँकी काम अघि बढाउने योजनामा रहेको कम्पनी स्रोत बताउँछ ।

हाल साइड ड्रेन अधुरो छ भने बिजुलीका पोल अझै सडकको बीचमै छन् । यात्रा गर्नुपर्ने यात्रु र स्थानीयवासी भने समस्यामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *