मोटरेबल पुल भाँच्चियो

मन्थली नगरपालिका– ६, कुनौरी र वडा नं. ७ भटौली जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुलको बिचभागको स्ल्याब आइतबार बिहान भाँच्चिएको छ ।

  उक्त पुलको निर्माणको काम अन्तिम चरणमा पुगेको वेला गत वैशाख २६ गते कुनौरीतर्फ पर्ने एउटा स्ल्याब भाँच्चिएको थियो ।

भाँच्चिएको ठाउँमा पुनर्निर्माणसँगै भटौलीतर्फ जोड्ने पुलको स्ल्याब ढलान भएको केही समयपछि बिचभागको स्ल्याव  पनि भत्किएको हो ।

निर्माणाधीन उक्त पुलको स्ल्याब भत्किएर नदीमा झरेसँगै अहिले उक्त स्थानमा पुल हेर्न जाने नागरिकको घुइँचो लागेको छ ।

उक्त पुल सडक विभागको पुल शाखाले ०७८/७९ मा टेन्डर आह्वान गरेसँगै कालिका कल्पवृक्ष जेभीले भ्याट र पिएस आइटमबाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ०८२ भदौ महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

२३० मिटर लामो उक्त पुलको चौडाइ ११ मिटरको रहेको छ । निर्माणाधीन उक्त पुल डिजाइन एन्ड बिल्ड प्रकृतिको हो ।

निर्माणाधीन उक्त पुलमार्फत सदरमुकाम मन्थली हुँदै क्षेत्र नं. २ को खाँडादेवी, दोरम्बा, शैलुङ र सुनापति गाउँपालिकासँग प्रत्यक्ष जोडिन्छ ।

यसबाहेक अहिले सदरमुकाम मन्थलीबाट पुष्पलाल राजमार्ग हुँदै बिपी राजमार्गबाट राजधानी आवतजावत हुँदै आएकोमा निर्माणाधीन उक्त पुलबाट सदरमुकाम मन्थलीबाट सीधै खाँडादेवी, सुनापति हुँदै काभ्रे निस्किएर राजधानी जान छोटो दूरी पर्नेछ भने सोही बिपी राजमार्ग पनि सोही पुलमा जोडिनेछ ।

उक्त पुल भाँच्चिएसँगै आमरामेछापवासीले चिन्ता व्यक्त गरेका छन् ।

पुल निर्माणको क्रममा निर्माण व्यवसायीले मापदण्डअनुसार काम नगर्दा पुल भाँच्चिएको हुन सक्ने आशंका रहेको स्थानीयहरूले बताएका छन् ।

पुल निर्माणमा कहीँकतै कमजोरी भएकै कारण यस्तो दुःखद घटना भएको मन्थली नगरपालिका– ७, भटौलीका रामचन्द्र शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *