विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौँ, रुपन्देही, पर्सा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मदन भण्डारी पेप्सीडिपो नजिक सडकमा बा.प्र. ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय पवन पराजुलीको मृत्यु भएको छ ।
शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।
त्यस्तै,रुपन्देहीको मायादेवी गाउँपालिका–७ गरगट्टीस्थित सडकमा लु.२ ख २४७४ नम्बरको टिपरले लु.४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सम्मरीमाई गाउँपालिका–५ रोहिनिहवा बस्ने २० वर्षीय समीर खान र मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका–७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको शनिबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
उता पर्साको बहुदरमाई नगरपालिका– ५ पटनीस्थित सडकमा बीआर ०१ पिए ४४०९ नम्बरको सुमो र बागमती प्रदेश ०२–३० प ६७७८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत पूर्वी चम्पारण बस्ने ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार सुमो चालकको खोजी गरिरहेको छ ।
त्यस्तै सुर्खेतको चौकुने गाउँपालिका–६ स्थित सडकमा क.प्र.०२–००१ त ०२८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार पञ्चपुरी नगरपालिका–८ बस्ने ५२ वर्षीय राजु रसाइली र ६८ वर्षीय भगत सिंह विकको मृत्यु भएको छ ।
शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र साल्कोटमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका चालक समेत ५ जनाको सोही स्वास्थ्य केन्द्रमा र ३ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।