चार वर्षदेखि प्रतीक्षा गरिएको ललितपुरस्थित ग्वार्को ओभरपास (फ्लाइओभर) आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेलगत्तै ओभरपास सञ्चालनमा आउने गरी कार्यक्रम तय गरिएको भौतिक पूवार्धार तथा यातायत मन्त्रालयले जनाएको छ ।
नेपालकै पहिलो प्रयोग भएकाले यस ओभरपासमा काम गर्न केही अलमल भएको थियो । ठेकेदार कम्पनी आशिष समानान्तर रेलिगेट कम्पनीले बिहीबारसम्म ओभरपासमा गाडी गुड्न मिल्ने बनाउन ट्राफिक लाइट, रङरोगन, सडक संकेत, तथा पानीको निकास लगायत सबै काम पूरा गरिसकेको छ ।
ओभरपासको लम्बाइ कोटेश्वरतर्फ तीन सय २० मिटर तथा सातदोबाटोतर्फ एक सय ८० मिटर छ। यस ओभरपासमा ३५ मिटर लामो चार लेनको पुल निर्माण भएको छ ।
गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरेको थियो । गत पुस ८ गतेसम्म काम पूरा गर्न उक्त कम्पनीलाई अन्तिम म्याद दिइएको थियो ।
अन्तिम म्यादसम्म पनि कम्पनीले काम सम्पन्न नगरेपछि दैनिक ०.०५ प्रतिशतको दरले हर्जाना तिर्नुपरेको हो । दैनिक हर्जाना तिर्न थालेपछि ठेकेदार कम्पनीले काम दु्रतगतिमा अघि बढाएको आयोजनाका कर्मचारीको बुझाइ छ ।
ग्वार्को ओभर पास बनाउन २०७८ फागुन १२ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । १७ करोड ६ लाख ८८ हजार रूपैयाँमा यसको ठेक्का सम्झौता गरिएको थियो ।