अन्योलमा धुलिखेल–खावा सडक

धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ ।

करिब तीन वर्षअघि सुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो ।

भक्तपुर सडक डिभिजन कार्यालयले २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवासँग २० करोड १९ लाख रुपैयाँको ठेक्कामा सम्झौता गरी काम सुरु गराएको थियो ।

सम्झौताअनुसार काम २०८० चैत मसान्तसम्म सकिनुपर्ने थियो ।

तर निर्माण कम्पनीले तोकिएको समय सीमा पार गरे पनि उल्लेखनीय प्रगति गर्न सकेन । प्रगति सन्तोषजनक नभएपछि डिभिजन कार्यालयले ठेक्का रद्द गरेको छ ।

तर ठेकेदार कम्पनीले पाटन उच्च अदालतमा रिट दायर गरेपछि अदालतले अन्तरिम आदेशमार्फत पुनः टेन्डर, धरौटी जफत र कालोसूचीकरण रोक्का गर्न निर्देशन दिएको छ ।

यता सडक डिभिजनले पुनः टेन्डरको तयारी गरिसके पनि अदालतको आदेश र अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन ।

डिभिजन प्रमुखकाअनुसार निर्माण कार्य सुरु गर्न तयार भएपनि कानुनी तथा वित्तीय बाधाले परियोजना अलपत्र बनेको हो ।

हालसम्म करिब २०–२५ प्रतिशत मात्र आर्थिक प्रगति भएको डिभिजनको दाबी छ ।

केही स्थानमा नाली निर्माण र पहाड कटान गरिएको भएपनि अधिकांश स्थानमा रोड बेस, ग्राभेल बेस तथा कालोपत्रे गर्न बाँकी छ ।

१२ मिटर चौडाइको यो सडक खण्डमा पहिलोपटक २० सेन्टिमिटरको सिमेन्ट ग्राभेल बेस राखी त्यसमाथि डब्लूबीएम र डबल लेयर कालोपत्रे (डेंस बिटुमिनस म्याकाडम र एस्फाल्ट) गर्ने प्रविधि अपनाउने योजना थियो ।

धुलिखेल हुँदै चीनसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुजस्ता जिल्लातर्फ जाने मुख्य नाकाको रूपमा रहेको यो सडकमा भारी सवारी चाप वहन गर्नसक्ने बनावट तयार गर्ने उद्देश्य थियो ।

तर लामो समयसम्म काम रोकिँदा योजनाको उद्देश्य नै संकटमा परेको देखिन्छ ।

स्थानीयवासी र यात्रुहरू तीन वर्षदेखि धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबिच यात्रा गर्न बाध्य छन् ।

सडकको निर्माण कार्य फेरि कहिले सुरु हुन्छ भन्नेमा अझै अनिश्चितता रहेको छ ।

अब अदालतको अन्तिम निर्णय र अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्र परियोजना पुनः सुरुवात हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *