ग्वार्को फ्लाइओभरको मुख्य संरचना निर्माण पूरा

ललितपुरको व्यस्त ग्वार्को क्षेत्रस्थित फ्लाइओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागका अधिकारीहरूले आयोजना स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणपछि मन्त्री दाहालले पत्रकारहरूसँग कुरा गर्दै ग्वार्को फ्लाइओभर निर्माण कार्य केही ढिला भए पनि सम्पन्न हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।

उनले यो आयोजना ‘नौलो अभ्यास’ भएकाले समय लागेको उल्लेख गर्दै अन्य निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

सडक विभागका महानिर्देशक डा. विजय जैशीका अनुसार फ्लाइओभरको मूल संरचना पूरा भइसकेको छ र अब केही दिनभित्र सार्वजनिक यातायात सञ्चालनका लागि खुला गरिने तयारी गरिएको छ।

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले फ्लाइओभरको मध्य भागमा डिभाइडर जडान गर्नुका साथै केही सामान्य काम बाँकी रहेको जानकारी दिए।

उनका अनुसार बाँकी काम दुई-तीन दिनमै पूरा भइ फ्लाइओभर सञ्चालनमा आउनेछ।

फ्लाइओभर निर्माण कार्य ढिलाइ भएपछि मन्त्री दाहालले पटक-पटक स्थल निरीक्षण तथा अनुगमन गर्दै काम छिटो सक्न निर्देशन दिएका थिए।

यस फ्लाइओभर सञ्चालनमा आएपछि कोटेश्वर-ग्वार्को खण्डमा सवारी चाप कम हुने र यातायात प्रवाह सहज हुने अपेक्षा गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *