सिस्नेखोला–नागढुंगा सुरुङमार्गबाट वार्षिक ६० करोड आम्दानी

मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्गमा प्रवेश गर्ने सवारीसाधनका लागि प्रस्तावित शुल्क (टोल ट्याक्स) स्वीकृत गरेको छ ।

सोमबार बसेको समिति बैठकले सडक बोर्डबाट प्रस्ताव भएको शुल्क स्वीकृत गरेको हो । सुरुङमार्गबाट वार्षिक ६० करोड आम्दानी र ३५ करोड खर्च हुने अनुमान समितिले गरेको छ ।

अब समितिले गरेको स्वीकृतिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि लागू हुनेछ ।

समितिका सदस्यसमेत रहेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समितिबाट स्वीकृत टोल ट्याक्स मन्त्रिपरिषद्को आगामी बैठकमा एजेन्डा बन्न सक्ने बताए ।

‘सोमबार पूर्वाधार समितिबाट प्रस्तावित शुल्क स्वीकृत भयो ।

तर, सोमबारको मन्त्रिपरिषद्को बैठकमा यो एजेन्डाका रूपमा आएन,’ सरकारका प्रवक्तासमेत रहेको उनले भने, ‘एजेन्डा आएपछि आगामी बैठकमा यसबारे उपयुक्त निर्णय गरिनेछ ।’

अहिले निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्ग आगामी पुसबाट सञ्चालनमा ल्याउने लक्ष्य छ ।

त्यसभन्दा अघि नै यसका लागि आवश्यक नीतिगत व्यवस्था गरिसक्ने लक्ष्य छ ।

सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बोर्डले प्रस्ताव गरेअनुसार नै नागढुंगा सुरुङमार्गको टोल ट्याक्स आर्थिक तथा पूर्वाधार समितिले स्वीकृत गरेको बताए ।

मन्त्रिपरिषद्कै समितिले प्रस्तावित शुल्क स्वीकृत गरेकाले मन्त्रिपरिषद्बाट पनि सोहीअनुसार निर्णय हुने विश्वास लिइएको उनले बताए ।

सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनलाई फरक–फरक टोल ट्याक्स तोकिएको छ ।

सवारीसाधनको प्रकृतिअनुसार फरक दरमा टोल ट्याक्स निर्धारण गरिएको छ ।

नागढुंगा हुँदै आवतजावत गर्नेमध्ये ६० प्रतिशत सवारीसाधनले सुरुङ प्रयोग गर्ने अनुमान
प्रस्तावित दरमा टोल ट्याक्स उठाउँदा सुरुङबाट वार्षिक ६० करोड रुपैयाँसम्म राजस्व संकलन हुने अनुमान गरिएको छ ।

नागढुंगा नाकाबाट काठमाडौं आवातजावत गर्नेमध्ये ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेमा सोबराबरको राजस्व उठ्ने अनुमान गरिएको परियोजनाको सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले यसअघि २०१५ मा गरेको अध्ययनले नागढुंगाबाट काठमाडौं आवतजावत गर्नेमध्ये ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्न सक्ने देखाएको थियो ।

अहिले उक्त नाकाबाट दैनिक आठ हजार आठ सयहाराहारीमा सवारीसाधन दोहोरो रूपमा आवतजावत गर्छन् । ‘वर्तमान समयमा भने नागढुंगा नाकाबाट दैनिक आठ हजार आठ सय सवारीसाधन आउजाउ गर्छन् ।

त्यसको ६० प्रतिशत गाडीले सुरुङमार्ग प्रयोग गर्ने र त्यसमा प्रस्ताव गरेअनुसार टोल ट्याक्स लगाएमा वर्षमा ६० करोड रुपैयाँहाराहारीमा आम्दानी हुने देखिन्छ,’ उनले भने ।

२४ घण्टा सञ्चालन हुने सुरुङमार्गका लागि तीन सिफ्टमा एक सय ५० कर्मचारी परिचालन
सुरुङमार्ग सञ्चालन गर्न वार्षिक ३५ करोड रुपैयाँसम्म चाहिने देखिएको छ ।

सुरुङमार्ग सञ्चालन सम्बन्धमा सडक विभागले तयार गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदनले नियन्त्रण कक्ष भवन सञ्चालन तथा कर्मचारी, विद्युत्, अक्सिजन, टेलिकम, इन्टरनेटलगायत पूर्वाधार सञ्चालन तथा व्यवस्थापनमा सोबराबरको खर्च चाहिने देखाएको छ ।

उक्त सुरुङ २४ घण्टा नै सञ्चालन गरिनेछ । त्यसलाई आठ–आठ घण्टा गरेर तीन सिफ्टमा सञ्चालन गर्न १५० जना कर्मचारी आवश्यक पर्ने देखिएको छ ।

यसैगरी दुवैतर्फ रहेको नियन्त्रण कक्ष भवनबाट सुरुङ सञ्चालन गर्ने तथा टोल ट्याक्स उठाउनेलगायत प्रशासनिक काम गरिनेछ ।

यसअनुसार परियोजनाले वार्षिक २५ करोड रुपैयाँसम्म नाफा गर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *