उक्त सूचना केन्द्रबाट पर्यटकले पदमार्गको विशेषता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताए ।
“यो पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको गन्तव्य हो”, उपाध्यक्ष राईले भने, “हामी यो क्षेत्रको बृहत् विकासमा जुटेका छौँ ।
पदमार्गलाई मानिसको साधना स्थलका रूपमा विकास गर्ने योजना छ । गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको छ ।”
पदमार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकैसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिए ।
यहाँको हावापानी हिमालमा जस्तो ठन्डा र तराईजस्तो गर्मी नहुने सन्तुलित क्षेत्र भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।
बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।
पदमार्ग हुँदै भोजपुरको चार हजार १ सय ५३ मिटर उचाइमा रहेका सबैभन्दा अग्लो धार्मिक तथा पर्यटकीय क्षेत्र सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ ।
पदमार्गको आसपासमा निर्माण भएका किराँतको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठुला ठुला घाँसे मैदान, स्थानीयले पालेका चौँरी, भेडी गोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गर्दछ ।