काठमाडौं–तराई/मधेश द्रूतमार्गको सुरु विन्दु डुकुछापमा कायम गर्न स्थानीय सरोकारवालाहरूले सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सो द्रूतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायका बारेमा सोमबार ललितपुरको खोकना र बुङ्मतिका स्थानीयवासीका प्रतिनिधिसँग गरेको छलफलमा उनीहरूले हाल कायम गरिएको विन्दुबाट पाँच किलोमिटर तल झार्न सुझाव दिएका हुन् ।
उनीहरूले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले उक्त स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिएका थिए ।
रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधिसमेत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्नेगरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एकपटक स्थलगत अवलोकनमा आउने जानकारी गराएका थिए ।
यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितामा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए ।