राजधानी काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो र आधुनिक मार्गको रूपमा निर्माण भइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) नेपालको अबको भौतिक पूर्वाधारको मेरुदण्ड बन्ने अपेक्षा गरिएको छ।
नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको यो राष्ट्रिय गौरवको आयोजनाले दूरी घटाउनेछ, यसले यातायात, व्यापार र सम्पूर्ण आर्थिक प्रणालीमा परिवर्तन ल्याउने दाबी गरिएको छ।
करिब ७१ किलोमिटर लामो यो मार्गले काठमाडौं उपत्यकाको दक्षिणी किनार फर्सीडोलबाट सुरु भई मकवानपुर, बारा हुँदै रौतहटको निजगढमा गएर पूर्व–पश्चिम राजमार्गसँग जोडिनेछ।
सुरुमा खोकनालाई प्रवेश बिन्दु बनाउने योजना थियो तर स्थानीयको लगातारको विरोधपछि हाल फर्सीडोललाई ‘जिरो किलोमिटर’ बनाउने सहमति नजिक पुगेको छ।
यसै अनुसार नयाँ डिजाइन रक्षा मन्त्रालयमा स्वीकृतिका लागि पेस भइसकेको छ।
द्रुतमार्ग चार लेनको हुनेछ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइँदै गरेको यस सडकको प्रत्येक लेन फराकिलो हुनेछ र बीचमा सवारी नियन्त्रणका लागि डिभाइडर रहनेछ।
दुवैतर्फ सर्भिस लेन र सुरक्षाका लागि आवश्यक सोल्डर समेत राखिने योजना छ।
आधुनिक सडक संरचनासँगै द्रुतमार्गमा सातवटा सुरुङमार्ग बनाइँदै छन्, जसमा दुई सुरुङको खन्ने काम सम्पन्न भइसकेको छ भने दुईको निर्माण प्रक्रिया जारी छ।
बाँकी तीन सुरुङको डिजाइन र तयारी भइरहेको छ।
सडकको अनेक खण्डमा नदी र खोला पार गर्न ८७ वटा पुल बन्नेछन्। तीमध्ये केही झोलुङ्गे र केही ठूला आरसीसी पुल हुनेछन्।
नेपाली सेनाका अनुसार आगामी वर्षभित्र ३७ किलोमिटर क्षेत्रमा सब–बेस निर्माण, चार किलोमिटर सुरुङको काम, र ६० वटा पुल सम्पन्न गरिने लक्ष्य छ।
आयोजना सुरु भएको आठ वर्ष भइसक्दा पनि अहिलेसम्म कुल प्रगति ४० प्रतिशतभन्दा कम छ।
पटक–पटक म्याद थपिँदै आएको यो आयोजना अब २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ।
तर समयमा काम सम्पन्न नहुने करिब निश्चित भइसकेको छ।
मार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराईबीचको यात्रा समय एक घण्टासम्म झर्नेछ।
द्रुतमार्ग सञ्चालनमा आएपछि मालवाहनको लागत र समय कटौती भई व्यापारिक र औद्योगिक गतिविधिमा नयाँ ऊर्जा थपिने सरकारको विश्वास छ।
द्रुतमार्गमार्फत सञ्चालन हुने सवारी साधनको गति सीमा १०० किलोमिटर प्रतिघण्टा राखिनेछ।
प्रमुख सहर र ग्रामिण क्षेत्रहरूमा सवारी आवत–जावतका लागि इन्टरचेंज र इन्ट्री–एक्जिट प्वाइन्ट बनाइनेछन्।
निजगढ, लालझाँडी, बकैया, महालक्ष्मी र प्रस्तावित जिरो किलोमिटर फर्सीडोलजस्ता स्थानबाट सवारी आवागमन सहज बनाइनेछ।