काठमाडौंका ट्याक्सी व्यवसायी दीपेन्द्र श्रेष्ठ पठाओ, इन्ड्राइभ जस्ता विभिन्न राइड सेयरिङ एप चलाउँछन् ।
ती एपका कारण उनलाई यात्रु पाउन धेरै सजिलो बनाएको छ । पहिला चोकहरूमा यात्रु कुर्नुपर्थ्यो ।
अहिले यात्रुले बोलाएको सूचना मोबाइलमै आउँछ । हत्तपत्त खाली बस्नुपर्दैन ।
तर, उनी पछिल्लो पटक राइड सेयरिङ कम्पनी विरुद्ध यातायात व्यवसायीले गरिरहेको आन्दोलनमा सहभागी छन् । उनको चिन्ता चाहिँ मोटरसाइकलले यात्रु बोके भन्ने हो ।
मोटरसाइकल राइडरले यात्रु नबोके महँगो भाडा लिएर अझै धेरै यात्रु पाइथ्यो भन्ने उनलाई लाग्छ ।
‘हाम्रो माग भनेको राइड सेयरिङ कालो नम्बर प्लेटका ट्याक्सीले मात्रै गर्न पाउनुपर्छ भन्ने हो ।
मोटरसाइकलले त बोकेकै थिए, निजी कारहरूले पनि यात्रु बोक्न पाए भने हाम्रो व्यवसाय डुबिहाल्छ नि,’ उनी भन्छन् ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय नेता प्रकाश अधिकारी पनि निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने व्यवस्थाका लागि आन्दोलन गरेको बताउँछन् ।
‘तपाईंहरू आफैंले राइड सेयरिङबाट फाइदा लिनुभएको छ त ?’ भन्ने प्रश्नमा उनले त्यो सत्य भएको बताए ।
तर, ‘रातो नम्बर प्लेटका गाडीलाई पनि यात्रु बोक्न दिए, भाडाका सवारीसाधनको के अर्थ ?,’ भन्ने उनको प्रश्न छ ।
काठमाडौं, पोखरा, चितवन, बुटवल–भैरहवा लगायत सहरमा दुई पाङ्ग्रे राइड सेयरले निकै लोकप्रियता कमाइरहेका छन् ।
त्यसो हुँदा सार्वजनिक यातायात र ट्याक्सीको मनोमानीमाथि राइड सेयरिङ प्लेटफर्मले ठूलो चुनौती खडा गरिरहेका छन् ।
राइड सेयरिङ सेवा नेपालमा सुरु भएको एक दशक पनि भएको छैन । तर, प्रमुख सहरमा बस्ने मानिसको जीवनशैली नै यसले बदलिदिएको छ ।
यात्रु सार्वजनिक सवारी खोज्दै चोकचोक पुग्नुपर्ने बाध्यताबाट सवारीसाधन यात्रु खोज्दै घरसम्मै आउने संस्कृति सुरु भएको छ ।
सार्वजनिक सवारीसाधन कहिल्यै पनि निर्धारित समयमा गन्तव्यमा नपुग्ने हुँदा यसले समयको बचत पनि गराएको छ ।
ट्याक्सीको तुलनामा यसको भाडा पनि सस्तो छ । दुई पाङ्ग्रे राइड सेयरको आधार भाडा ३० देखि ६० रुपैयाँसम्म छ भने प्रतिकिलोमिटर भाडा १५ देखि २५ रुपैयाँसम्म पर्छ ।
राइड सेयरिङ एपबीचमै प्रतिस्पर्धा हुँदा उनीहरूले राइडर, ड्राइभर र यात्रुलाई विभिन्न छुट सुविधा पनि प्रदान गर्ने गर्छन् ।