जुम्लाको हिमा गाउँपालिका– २ ओदीगाउँ प्राकृतिक रूपमा सुन्दर र स्वच्छ मात्रै छैन, यस गाउँले जिल्लाभरिमा लसुन उत्पादनमा आफूलाई अग्रस्थानमा राखेको छ ।
ओदीगाउँका किसानले घरलौरी बर्सेनि लसुनबाट ५० हजारदेखि एक लाखसम्म लिने गरेका छन् ।
ओदीगाउँमा २५० घरधुरी छन् । सबै घरधुरी कृषिमा आबद्ध छन् । उनीहरू बाह्रै महिना खेतीपातीमा व्यस्त हुन्छन् । यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत पनि कृषि हो ।
उनीहरूले विशेषगरी अन्नबाली जौ, गहुँ, फापर, सिमी, कोदो, चिनो, कागुनोलगायत उत्पादन गर्छन् ।
फलफूलमा स्याउ, ओखर उत्पादन गर्छन् । यस्तै, तरकारीमा आलु, काउली, लसुन उत्पादन गर्ने गर्छन् । यसमध्ये लसुनबाट उनीहरूले राम्रो आम्दानी गर्ने गरेका छन् ।
वडाध्यक्ष हरिबहादुर रोकाया आफैँले पनि वार्षिक ५० हजारको लसुन उत्पादन गर्ने गरेको बताउँछन् ।
‘यहाँका सबैजसो किसानले लसुन खेती गर्छन् । हरेक घरपरिवारले वार्षिक लसुन खेतीबाट कम्तीमा ५० हजार आम्दानी गर्छन् ।
म आफैँले पनि वार्षिक एक हल लाग्ने बारीमा लसुन रोपेर ५० हजार आम्दानी गर्ने गरेको छु ।’
गाउँलेलाई लसुन उत्पादन कसरी धेरै गराउने भन्ने मात्रै चिन्ता हो । बिक्रीको कुनै चिन्ता छैन । गाउँमै मोटरबाटो पुगेपछि व्यापारीहरू घरआँगनमै लसुन किन्न आइपुग्ने गरेको वडाध्यक्ष रोकायाले बताए ।
‘लसुन खरिद गर्न व्यापारी घरघरै आउँछन् । सुकाएको लसुन प्रतिकेजी सय र नसुकाएको ६० रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने, ‘ओदीगाउँबाट वार्षिक दुई ट्रक अर्थात् १६० क्विन्टलजति लसुन बिक्री हुन्छ ।
जसबाट गाउँमा बर्सेनि एक करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।’ असारमा लसुन कोर्ने र साउनमा बिक्री गर्ने गरेको उनले बताए ।
नाग्म–गमगढी सडकको बड्की खण्डबाट उत्तरतर्फ यात्रा गर्दा करिब एक घण्टामा ओदीगाउँ पुग्न सकिन्छ ।
पारिलो घाम लाग्ने दक्षिण मोहोडा फर्किएको खेतीयोग्य जमिनबाहेक ढुंगा, माटो, काठले बनेका परम्परागत शैलीका लहरै (वाडा) घरैघर ओदीगाउँको अर्को चिनारी हो ।
समृद्धिको खुट्किलोमा उक्लिँदै गरेको ओदीगाउँको छेउमा आधारभूत स्वास्थ्य केन्द्र र १२ कक्षासम्म अध्ययन हुने (बाली विज्ञान प्राविधिक धार) नेत्रज्योति माध्यमिक विद्यालय पनि छ ।
सामान्यतया बिरामी हुँदा औषधि उपचार गर्ने ठाउँ (आधारभूत स्वास्थ्य केन्द्र) र जीवन उपयोगी शिक्षा आर्जन गर्न विद्यालय भएपछि यहाँका नागरिक प्रफुल्लित छन् ।
ओदीगाउँ हिमा गाउँपालिकाको सबैभन्दा अग्लो स्थानमा रहेको गाउँ पनि हो । यो गाउँ समुद्री सतहदेखि २९ सय मिटर उचाइमा छ ।
यो वडा पश्चिममा कालिकोट जिल्लाको पलाता गाउँपालिकाको सिमानासँग जोडिएको छ ।
अग्लो स्थानमा भएकाले यहाँ पशुपालनको राम्रो सम्भावना र मौरीपालन, जडीबुटीको पनि उत्तिकै सम्भावना रहेको छ ।
वडाको जनसंख्या १३ हजार सात रहेको छ ।
ओदीगाउँमा सडक पुगेको ६–७ वर्षजति भयो । त्यसयता गाउँको स्वरूप नै बदलिएको नेत्रज्योति माध्यामिक विद्यालय ओदीका प्रधानाध्यापक रंगबहादुर रोकाया बताउँछन् ।
उनले भने, ‘गाउँ सडक सञ्जालमा जोडिएपछि विकास निर्माणका सामग्री ओसारपसार गर्न पनि सहज भएको छ,’ उनले भने, ‘विकासको मेरुदण्ड भनेको सडक नै रहेछ ।’
ओदीगाउँ पुगेको सडक कालीकोट जिल्ला हुँदै बाजुरासम्म पुगेको छ । कतिपय खोलामा पुल नभएका कारण वर्षायाममा भने आवतजावतमा समस्या हुने गरेको छ ।
कच्ची सडक पुगेसँगै राष्ट्रिय प्रसारण लाइन (नेसनल ग्रिड) ओदीगाउँमा पुर्याउने तयारी भइरहेको छ । पोल गाड्ने काम हुँदै छ । अब विद्युत् लाइन तान्ने तयारी छ ।