एमएडब्लू र काठमाडौँ महानगरपालिकाबीच साझेदारी

एमएडब्लू इन्टरप्राइजेज प्रा. लि. र काठमाडौं महानगरपालिकाबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तिको निर्माण र विकासमा केन्द्रित SEEP मेला आयोजना गर्नेछन्।

यस सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रवर्धन गर्दै रोजगारीका अवसर सिर्जना गर्नु हो।

जेठ ७ बाट सुरु भएको SEEP (Skill and Employment Enhancement Program) मेलाले हाल १० वटा प्रमुख क्षेत्रअन्तर्गत ३७ प्रकारका पेशागत तालिमहरू दिइरहेको छ।

यसले युवाहरुलाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर प्रदान गर्दैछ।

साथै, यसले उद्योगलाई आवश्यक जनशक्ति भित्र्याउने क्षमता पनि बढाउनेछ।

यो साझेदारीले दुवै पक्षको आपसी सम्बन्ध र दिगो विकास लक्ष्य (SDGs) प्रतिको प्रतिबद्धता दर्शाउँछ, विशेषगरी मर्यादित रोजगारी र आर्थिक वृद्धिसँग सम्बन्धित लक्ष्यप्रति।

SEEP मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्न विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य राखेको छ।

सम्झौता पत्रमा फेयर म्यानेजमेन्ट कमिटीको तर्फबाट गतिशील अभियान नेपालको संयोजनमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो।

आयोजकको तर्फबाट रामजी पौडेल, एमएडब्लू इन्टरप्राइजेजका तर्फबाट एमएडब्लू अर्थमुभर्स प्रा. लि. का सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमी प्रा. लि. का सीईओ महेश बिष्टले संयुक्त रूपमा हस्ताक्षर गरे।

SEEP मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।

मेलाले सबै पक्षलाई एउटै ठाउँमा ल्याएर काठमाडौं महानगरपालिकाको लक्ष्यअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्न सक्षम र आत्मनिर्भर श्रमशक्ति निर्माणमा टेवा पुर्‍याउनेछ।

यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक–निजी साझेदारीलाई सशक्त बनाउँदै बेरोजगारी घटाउने र देशभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *