चोरमारा पुलमा साँझदेखि यातायात सञ्चालनको तयारी

बढी तौल बोकेका मालवहाक गाडी गुडेका कारण भासिएको पूर्वी नवलपरासीस्थित चोरमारा पुल मर्मत गरेर आज साँझबाट यातायात सञ्चालनको तयारी गरिएको छ ।

पुल निर्माण कम्पनी जलप नेपालका सञ्चालक तारा पौडेलका अनुसार निर्माणको काम सकिएका कारण आज साँझसम्म त्यहाँबाट यातायात सञ्चालन गरिने छ ।

पुल महाशाखाका प्रमुख ललिजन खनालले चोरमारा पुल निर्माणको काम सकिएपछि पुल महाशाखाका प्राविधिक र इन्जिनियरहरूले आज जाँच गरेका छन् । सम्भवतः आज साँझबाट त्यहाँ गाडी गुडाइने खनालले बताए ।

२ सय १६ मिटर लामो फलामे पुल ५२ वर्षअघि निर्माण गरिएको थियो । वैशाख पहिलो साता बढी तौल मालवाहक गाडी गुडेका कारण पुल भासिएको हो ।

महेन्द्ररामार्ग निर्माण गर्दाका बखत ५२ वर्षअघि निर्माण गरिएको फलामे पुल जीर्ण अवस्थामा छ । पुल मर्मत गरिएपनि फेरि धेरै तौल भएका गाडी गुडाउँदा अर्को ठाउँबाट भाँच्चिने जोखिम पनि उत्तिकै छ ।

‘पुल अब फिट एन्ड फाइन छ भन्ने होइन जोखिम उत्तिकै छ । बढी तौल भएका गाडी त्यहाँ हिँडाउन हुँदैन,’ ठेकेदार कम्पनीका प्रमुख तारा पौडेलले भने, ‘जहाँबाट पुल भाँच्चिएको थियो त्यो स्थानलाई सोझो बनाइएको हो ।

पूरै पुलमा नयाँ सामान (फलाम) फेरेको होइन ।’

पुल महाशाखाका प्रमुख ललिजन खनालले त्यहाँको पुलमा धेरै तौल भएका गाडी नहिँडाउन प्रहरीले काम गर्नुपर्ने बताउँछन् । पुल महाशाखाका प्राविधिक र इन्जिनियरहरूले मंगलबार नै त्यहाँ पुगेर पुलको अनुगमन र निरीक्षण गरेका छन् ।

‘उनीहरूको प्रतिवेदनका आधारमा आज साँझसम्म त्यहाँबाट गाडी चल्न दिने भन्ने छ,’ खनालले भने, ‘अब धेरै तौल भएका गाडी हिँडाउन हुँदैन । त्यसको नियन्त्रणको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको हो ।’

फेरि पुल भाँच्चियो भने त्यसको जिम्मेवारी पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीको रहने उनले बताए ।

‘यातायात सञ्चालन कानुनमै हरेक सडकको जिम्मेवारी त्यहाँका जिल्ला प्रशासन कार्यालयले हेर्ने भन्ने प्रस्ट लेखिएको छ,’ खनालले भने, ‘निर्माणाधीन महेन्द्रराजमार्गका नयाँ पक्की पुल नबनुन्जेल पुराना जीर्ण पुलबाट गाडी हिँडाउन पर्ने बाध्यता छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *