ईभीमा कर नबढ्दा व्यापारी चकित

सिन्धुपाल्चोक लार्चा भन्सार, रसुवाको रसुवागढी भन्सार, भैरहवा नाका र चोभारस्थित सुक्खा बन्दरगाह भन्सारमा अहिले पनि विद्युतीय सवारीसाधन (ईभी) सयौँको संख्यामा थुप्रिएका छन् ।

बजेट अगाडि ईभीमा कर बढ्ने हल्लाले अत्यधिक भित्रिएको ईभी भन्सार जाँचपास भएर पार्किङमा व्यापारीले राखेका छन् । केही समययता ह्वात्तै बढेको ईभी आयात संख्याले भन्सार कार्यालय भरिभराउ छन् ।

तर, ईभी आयात ह्वात्तै बढाएका व्यापारीहरू ईभीमा कर नबढ्दा अहिले चकित परेका छन् । ‘बजेटमा कर बढ्ने डरले ह्वात्तै आएका ईभी अब पार्किङ शुल्क तिरेर बसिरहन्छन् ।

कर बढ्नु अगाडि नै भन्सार जाँचपास गरिसकेकाले अब उनीहरूले शो-रुममा भन्दा यहीँ पार्किङ शुल्क तिरेर राख्छन् । बिक्री बढ्न थालेपछि लैजान सक्छन्,’ भन्सार अधिकृतहरू भन्छन् ।

सुक्खा बन्दरगाह व्यवस्थापन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्सार बढ्ने हल्लाले ईभी आयात थुप्रिएको बताउँछन् ।

‘करको हल्लाले इभी आयो, अब पार्किङ गरेर बसेका छन् । कर बढाउँदा ग्राहकलाई नयाँ मूल्यमा बेच्ने भनेर ल्याइएको ईभी थुप्रिँदा अहिले बन्दरगाहहरू भरिभराउ छन्,’ उनी भन्छन् ।

एक अटोमोबाइल व्यवसायीका अनुसार भन्सार जाँचपास भएर बसेका ईभी ३ हजार युनिटभन्दा बढी संख्यामा छन् । कर बढ्नेमा ढुक्क अटो व्यापारीहरूको स्रोतले नै झुक्याएपछि चकित परेका हुन् ।

‘ईभीमा कर नबढाउँदा दुःखी हुनुपर्ने कारण त छैन, तर ह्वात्तै आयात गरेको ईभी स्टक हुँदा बाहिर हाँसिरहे पनि मन पोलिरहेको छ,’ एक आयातकर्ता भन्छन् ।

ब्याज र पार्किङ शुल्कले लागत बढ्ने डर

ईभी आयातकर्ताले बजेटमा कर नबढ्दा राहतको सास फेरे पनि ल्याइएको गाडी तत्काल बिक्री नहुँदा लागत बढ्ने डर छ ।

‘केही कम्पनीले हजार हाराहारीमा समेत ईभी आयात गरेका छन्, सामान्य आयातकर्ताले समेत सयको हाराहारीमा आयात गरेका छन्,’ नेपालमा ईभी आयात गर्ने एक व्यवसायी भन्छन्, ‘बजेटले ईभीमा कर नबढाएको त राम्रै छ, दीर्घकालीन हेर्ने हो भने, तर जुन अनुपातमा आयात भएको छ, त्यो दसैं अगाडि सकिँदैन कि भन्ने डरले सताइरहेको छ ।

तत्काल किन्न सक्ने क्षमता भएका धेरै ग्राहकले बजेट अगाडि नै ईभी किनेका छन् । बजेट अगाडि ईभी नकिन्नेहरू अधिकांशले तत्काल किन्ने देखिँदैन । त्यो हिसाबले केही समय गाडी खासै बिक्री नहोला ।’

नेपालमा धेरै गाडी बिक्री गर्नेमध्ये एक गाडी कम्पनीका प्रबन्ध निर्देशकका अनुसार धेरै ग्राहकलाई बजेट अगाडि नै बैंकिङ किस्ता हाल्ने गरी गाडी बिक्री गरिएको थियो ।

‘बजेटमा कर बढ्न सक्छ भनेर सम्भावित ग्राहकलाई अहिले नै किन्न आग्रह गरेका थियौं । तर, बजेटमा कर बढेन । तै पनि हामी खुसी नै छौं । ईभीको एडाप्टेसन बढ्दै जान्छ,’ उनले भने ।

नाइमाका एक पदाधिकारीले बन्दरगाहमा पार्किङ शुल्क र बैंकको ब्याजले लागत बढ्ने बताए ।

‘तत्काल गाडी बिक्री हुने सम्भावना कम छ, शोरुममा ल्याएर गाडी राख्ने स्पेस छैन, यसले लागत बढ्छ । फेरि, बैंकबाट ऋण लिएर गाडी आयात गर्दा ब्याजको समस्या हुने देखिन्छ,’ उनले भने ।

उनले मार्जिन बढाउने लोभमा ह्वात्तै गाडी आयात बढाउँदा सरकारलाई फाइदा भएको बताए ।

‘सरकारले वैशाख र जेठ मसान्तभरि बजेटमा कर बढ्ने हल्ला गर्‍यो, त्यही अनुसार व्यापारीले भन्सार पास गरेर गाडी ल्याए तर कर बढेन,’ उनले भने, ‘सरकारको राजस्व बढ्यो, अब व्यापारीलाई कसरी गाडी धेरै बिक्री गर्ने भन्ने चिन्ता छ ।’

नाडाको तर्क ‘बजेट अटोमैत्री’

आगामी आव २०८२/८३ को बजेटलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रमैत्री बजेट भन्दै स्वागत गरेको छ ।

बजेटपछि आधिकारिक धारणा सार्वजनिक गर्दै नाडाले नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन बजेटले सहयोग पुग्ने जनाएको हो ।

नाडाका अनुसार बजेटले नेपालको अटोमोबाइल क्षेत्रको वर्षौंदेखिको माग र आवाज समेटेको छ ।

‘यो बजेट व्यवसायमैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीलाई प्रोत्साहित मात्र गरेको छैन, यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ,’ नाडाको विज्ञप्तिमा छ ।

बजेटले खुसी दियो : नाडा अध्यक्ष चौधरी

नाडा अध्यक्ष करण चौधरीले आगामी आवको बजेटले युवा र उद्यमीलाई सम्बोधन गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

बजेटपछिको प्रतिक्रियामा उनले आगामी आवको बजेटले विशेषगरी नाडालाई अर्थपूर्ण रूपमा सम्बोधन गरेको बताए । ‘यो बजेटले नाडालाई अर्थपूर्ण रूपमा सम्बोधन गरेको छ,’ उनले भने, ‘उद्यमी र युवालाई प्रोत्साहन गरेको छ ।’

बजेटमा ईभी करबारे अर्थमन्त्रीले भने– ‘निर्णयमा गर्व छ’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ईभीमा कर यथावत गर्ने निर्णयप्रति गर्व रहेको बताएका छन् ।

आगामी आवको बजेटबारे आज शुक्रबार अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ईभी करबारेको निर्णयप्रति गर्व लागेको बताएका हुन् ।

यस पटक ईभीमा कर बढ्ने हल्ला बजेटभन्दा निकै अघिदेखि चलेको थियो ।

तर, बजार हल्ला विपरीत बजेटले ईभीमा कर नचलाएपछि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने, ‘बजेटले ईभीको विषयमा गरेको निर्णय ठिक हो भनेर म गर्व गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *