निःशुल्क हेल्मेट र गुणस्तर

नेपालमा दुईपाङ्ग्रे सवारी साधन चलाउँदा हेल्मेटको प्रयोग अनिवार्य छ । जसको प्रयोगले चालकलाई धेरै प्रकारका सुरक्षा प्रदान गर्ने गर्छ । अहिले नेपालमा दुईपाङ्ग्रे सवारी साधनका चालकहरु प्रशस्त छन् ।

बर्सेनि नेपालमा करिब ४–लाख हेल्मेटको आयात हुन्छ । तर, अहिले त्यसको केही हिस्सा नेपालमा नै उत्पादन हुन्छ ।

नेपालमा कोहिनूरलगायतका केही ब्रान्डले गुणस्तरीय हेल्मेट उत्पादन गरिरहेका छन् भने केही कम गुणस्तर भएका हेल्मेटको पनि उत्पादन भएको पाइन्छ ।

त्यस्तै नेपालबाहिरबाट पनि केही गुणस्तरहीन हेल्मेटको आयत भएको पाइन्छ ।

नेपालमा दुईपाङ्ग्रे सवारी साधन किन्दा हेल्मेट निःशुल्क पाइन्छ । केही ब्रान्डले निःशुल्क हेल्मेट दिँदा पनि गुणस्तरीय हेल्मेट दिन्छन्, जुन दुर्घटनामा फुटिहाल्दैन ।

तर, धेरै ब्रान्डले बजारमा किन्दा १ हजार पनि नपर्ने हेल्मेट दिन्छन्, जुन सामान्य दुर्घटनामा पनि फुट्छ ।

त्यसैले केही दुईपाङ्ग्रे सवारी साधनका बिक्रीकर्ताले मानिसको जीवनकै खेलबाड गरिरहेका छन् । आम उपभोक्तालाई यो विषयको जानकारी हुँदैन । उनीहरुलाई लाग्छ, सबै हेल्मेट बलिया हुन्छन् ।

नेपालमा कुन गुणस्तर भएको हेल्मेट बेच्न पाइने वा नपाइने, कुनै त्यस्तो नियम छैन । यहाँ हेल्मेटको गुणस्तर नाप्ने मापदण्ड पनि छैन ।
दुईपाङ्ग्रे सवारी साधन जति छिटोछरितो र सजिलो भए तापनि त्यत्तिकै जोखिमपूर्ण पनि छ ।

दुर्घटना हुनासाथ सामान्यदेखि ज्यानैसमेत जाने हुन्छ । नेपालमा पनि पछिल्लो पटक यस्ता दुर्घटनाहरु निकै बढेको छ र यसप्रति राइडरहरुले समेत सावधानी अपनाउनुपर्ने देखिन्छ ।

नेपालका सडक त्यति सुरक्षित छैनन्, जसका कारण दिनदिनै सवारी दुर्घटना हुने गर्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ भने अर्कातर्फ चालकले पनि गुणस्तरीय हेल्मेट, राइडिङ गियर्सजस्ता सुरक्षित सामग्रीको प्रयोग गर्नुपर्छ ।

गुणस्तरीय सामानको प्रयोगले दुर्घटनामा मानवीय क्षति हुनबाट जोगाउँछ ।

 

नेपालमा सडक दुर्घटनाका कारण हरेक वर्ष तत्काल औसत ३ हजार जना व्यक्तिको ज्यान जाने गरेको छ ।

त्योभन्दा बढी गम्भीर घाइते हुने गरेका छन् । यी दुर्घटनामा धेरै मृत्यु मोटरसाइकल दुर्घटनाका कारण भइरहेको छ ।

त्यसैले मोटर साइकलमा सवार व्यक्तिले गुणस्तरीय हेल्मेट लगाउने र सुस्त गतिमा सवारी चलाउने हो भने मृत्यु र घाइते हुनेको संख्या घट्दै जान्छ । मोटरसाइकल चलाउँदा सवारी चालकले मात्रै हेल्मेट लगाउँछन् ।

पछाडि बस्नेको चाहिँ जीवनको कुनै महत्व नभएको जस्तो देखिन्छ । त्यसैले दुर्घटनाबाट नोक्सान कम गर्न दुवै यात्रुले गुणस्तरीय हेल्मेटको प्रयोग गर्नु उचित हुन्छ ।

अहिले बजारमा ६ सय ५0 देखि डेढ लाख पर्ने हेल्मेटहरु पाइन्छन् । आफ्नो रुचिअनुसारको हेल्मेटको प्रयोग गरौं ।

तर, सस्तो किन्ने लोभमा हामीले गुणस्तरहीन हेल्मेटको प्रयोग गर्नु हुँदैन ।

गुणस्तरीय हेल्मेट प्रयोग गरेर दुर्घटनामा हुने क्षति कम गर्न हामीले आजैबाट सुरु गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *