सडक आयोजना जसले नेतालाई लज्जित बनाउँछ

इनरुवाबाट १२ किलोमिटर पश्चिममा पर्छ लौकही बजार। लौकही बजारबाट झन्डै एक किलोमिटरमा नयाँ भारतीय बजार खुलेको छ। पछिल्लो पाँच वर्षमा फैलिएको सीमावर्ती भारतीय ‘बेला बजार’ सुनसरीका दक्षिणी भेगका स्थानीयको रोजाइमा परेको छ।

हुलाकी मार्गबाट विराटनगरदेखि लौकहीसम्म कालोपत्रे भएको छ। सोही सडकले जोडेको देवानगंज, कप्तानगंज, भुटाहा, हरिनगरलगायतका स्थानीयले बेला बजारलाई रोजेका हुन्। जोगवनीकै हिसाबका बेला बजारले ग्राहक तानिरहेको छ।

बेला बजारको विस्तारका पछाडि सुनसरी सदरमुकामसँग दक्षिणी भेगलाई जोड्ने इनरुवा-कम्तानगंज (कौवाखोच) सडकको योगदान छ। २२ किलोमिटर लामो सो सडक अस्तव्यस्त हुँदा इनरुवा बजार कमजोर बन्दै गएको छ। सदरमुकाम भएकाले केही प्रशासनिकबाहेक अन्य काममा स्थानीयले विकल्प खोजिसकेका छन्। त्यही विकल्पमध्ये एक हो बेला बजार।

स्थानीय व्यापारी रियाज आलमले पछिल्लो दशकमा इनरुवाको व्यापार खस्किँदो अवस्थामा पुगेको बताए। इटहरी, विराटनगरलगायत सहरको विस्तारसँगै इनरुवाले व्यापारिक चलायमानता गुमाएको उनको भनाइ छ। विराटनगरबाट हुलाकी मार्ग हुँदै पूर्वपश्चिम राजमार्गको लौकही (फुलचोक) पुग्न सकिने भएपछि इनरुवा छायामा परेको हो।

इनरुवा आउने देवानगंज, कप्तान्जगंज, हरिनगर, भुटाहा, बर्जू, गढीका नागरिकहरू हुलाकी मार्ग हुँदै विराटनगर पुग्ने गरेका छन्। इटहरीबाट पनि भित्री बाटो हुँदै गढी गाउँपालिकासम्म पहुँच पुगेको छ। लौकही, गढी, इटहरी र बराहक्षेत्रको बीचमा पर्ने इनरुवालाई फैलिँदो सडक सञ्जालले एक्लो बनाएको छ। नजिकैका अन्य सहरहरू सहज भए पनि उपभोक्ताले इनरुवालाई माया मारेका छन्।

सोही बाटोको कारण इनरुवाको व्यापार शून्यमा झरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाह बताउँछन्। केही प्रशासनिक कामको लागिबाहेक इनरुवामा आवागमन निकै कमजोर भएको उनको अनुभव छ। मुख्य राजमार्गबाहेक अन्य सडक सञ्जालको अवस्था कमजोर भएकाले इनरुवामा लगानीको वातावरण बन्न नसकेको शाहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *