सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका नौजनामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते कपुरकोट गाउँपालिका– ५, रिमनिवासी ६२ वर्षीया भीमा बुढाको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। भीमाको उपचारका क्रममा नेपालगन्जस्थित नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
सल्यान–दाङ जोड्ने वैकल्पिक मोटरबाटो कपुरकोट–लामिडाँडा–सातबास खण्डअन्तर्गत कपुरकोट गाउँपालिका– ३, लामिडाँडामा आइतबार लु १ ज १६३७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो। घाइते नौमध्ये ६ जनाको अवस्था गम्भीर छ।
यसैगरी, अन्य घाइतेहरू ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, ४६ वर्षीया सीता बुढा, १५ वर्षीया सपना बुढाथोकी र ५५ वर्षीय गोरेलाल बोहराको नेपालगन्जमा उपचार भइरहेको छ। उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो।
सामान्य घाइते ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशनी महताराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किएका प्रहरीको भनाइ छ।