प्युजो, लिपमोटर र सिट्रोनको मल्टिब्रान्ड शोरुम

स्टेलेन्टिस समूहअन्तर्गत नेपाली बजारमा उपलब्ध तीन ब्रान्डले एकै छानामुनी मल्टिब्रान्ड शोरुम सञ्चालनमा ल्याएका छन्। सांग्रिला मोटर्सले आधिकारिक रुपमा नेपालमा बिक्री गर्दै आएका प्युजो, लिपमोटर र सिट्रोनको मल्टिब्रान्ड शोरुम शुक्रबारबाट सञ्चालनमा आएको हो।

दक्षिण एसियामा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलेन्टिस समूहले नेपालमा मल्टिब्रान्ड शोरुमलाई प्राथमिकताका साथ प्रवर्द्धन गरेको हो। स्टेलेन्टिस समूहअन्तर्गतका तीन ब्रान्ड प्युजो, लिपमोटर र सिट्रोनका आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसनअन्तर्गतको सांग्रिला मोटर्स प्रालिले बिक्री गर्दै आएको छ।

काठमाडौंको उत्तरढोकामा अवस्थित नयाँ शोरुममा फ्रेन्च ब्रान्ड सिट्रोन र प्युजो तथा स्टेलेन्टिसको स्वामित्वमा रहेको चिनियाँ ब्रान्ड लिपमोटरलाई एउटै छानामुनि राखिएको छ। यसले ग्राहकलाई उत्कृष्ट र सहज अनुभव दिने कम्पनीको विश्वास छ।

नयाँ मल्टिब्रान्ड शोरुमको उद्घाटन स्टेलेन्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र सांग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सेली राजदूत भर्जिनी कोर्तेवालले गरेकी हुन्। राजदूत कोर्तेवालले फ्रान्सेली ब्रान्डका सवारीको नेपालमा राम्रो प्रवर्द्धन भइरहेको बताइन्।

कार्यक्रमा स्टेलेन्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक हजेलाले नेपाल कम्पनीका लागि राम्रो बजार भएको बताए। ‘हामी सांग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराएका हौँ,’ उनले भने, ‘नयाँ शोरुममार्फत स्टेलेन्टिसले ईभीसहित विश्वप्रसिद्ध प्रविधि र ब्रान्ड नेपाली बजारमा प्रस्तुत गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।’

नयाँ शोरुम उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित रहेको सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले बताए। ‘सिट्रोन, लिपमोटर र प्युजो एकै स्थानमा उपलब्ध गराएर नेपाली ग्राहकका लागि प्रिमियम मोबिलिटी समाधानको गन्तव्य बन्ने विश्वास लिएका छौँ। यसले ग्राहकको विश्वास र ब्रान्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउनेछ,’ उनले भने।

क्याफे कन्सेप्टमा सञ्चालनमा ल्याइएको उक्त शोरुममा कफी तथा खानेकुराको स्वादसँगै स्टेलेन्टिसको युरोप, चीन र भारतमा बनेका गाडीहरूको प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जनाएको छ। शोरुम भित्रै आकर्षक तथा कलात्मक डिजाइनको क्याफे रहेको छ। पर्याप्त पार्किङ, कस्टुमर लाउन्ज र फराकिलो स्पेसमा शोरुम बनेको छ। यो शोरुममा पेट्रोलियम तथा विद्युतीय सवारी पनि एकै ठाउँमा उपलब्ध छ।

यो शोरुममा लिपमोटरको सी१०, टी०३, सिट्रोनको सी५ एयरक्रस, सीथ्री तथा ईसीथ्री र प्यूजोका ३००८, ३००५ लगायत गाडीहरू बिक्रीका लागि राखिएको छ। शोरुम सञ्चालनमा ल्याएको अवसरमा कम्पनी आकर्षक अफरसमेत ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *