नेपाल राष्ट्र बैंकले फागुन १३ गते सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा सवारीसाधन कर्जासम्बन्धी नीति लचिलो बनाए पनि इन्धनचालित प्यासेन्जर गाडीको आयातमा उल्लेखनीय वृद्धि देखिएको छैन।
वैशाख महिनामा मात्र ५०९ युनिट इन्धन गाडी आयात भएका छन्।
नयाँ नीतिअनुसार, इन्धन गाडीको लोन टु भ्यालु अनुपात ५०% बाट ६०% मा बढाइएको थियो।
व्यवसायीहरूले यसले इन्धन गाडीको बिक्री बढाउने अपेक्षा गरेका थिए, तर त्यो अनुसारको परिणाम देखिएको छैन।
चालु आर्थिक वर्षको १० महिनामा ३,८१९ युनिट इन्धन प्यासेन्जर गाडी आयात भएका छन्, जसबाट सरकारले १३ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
दुई पाङ्ग्रे सवारीसाधनको बजार भने बुम भएको छ।चालु आवको १० महिनामा १ लाख ५९ हजार ५९८ युनिट बाइक तथा स्कुटर आयात भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१ हजारभन्दा बढी हो।
यसबाट सरकारले १९ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।